काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको टोली आज पार्टी केन्द्रीय कार्यालय सानेपा जाने भएको छ। विशेष महाधिवेशनपछि पहिलोपटक निर्वाचित नेतृत्व औपचारिक रूपमा पार्टी मुख्यालय प्रवेश गर्न लागेको हो।
आज दिउँसो सानेपामा पदाधिकारीहरूको उपस्थितिमा केन्द्रीय कार्यालयमा औपचारिक कार्यक्रम आयोजना गरिने बताइएको छ। सो अवसरमा पदबहाली, कार्यभार ग्रहण तथा केन्द्रीय कार्यसमितिको प्रारम्भिक बैठक बस्ने तयारी भएको पार्टी स्रोतले जनाएको छ ।
गत विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भए पनि अहिलेसम्म पार्टी केन्द्रीय कार्यालयमा औपचारिक रूपमा कार्यक्रम आयोजना गरिएको थिएन। आजको उपस्थितिलाई पार्टीको संगठनात्मक गतिविधि सञ्चालनका दृष्टिले महत्वपूर्ण मानिएको छ।
सानेपामा बस्ने बैठकमा पार्टीको वर्तमान राजनीतिक परिस्थिति, संगठन सुदृढीकरण, आगामी कार्यदिशा तथा आन्तरिक व्यवस्थापनसम्बन्धी विषयमा छलफल हुने बताइएको छ।
नयाँ नेतृत्वले आजैदेखि पार्टी कार्यालयमार्फत नियमित गतिविधि अघि बढाउने तयारी गरेको नेपाली कांग्रेसले जनाएको छ।