निर्वाचन आयोगमा पाँच उम्मेदवारविरुद्ध उजुरी, एकको उम्मेदवारी खारेज

दियोपोस्ट संवाददाता  

काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ उम्मेदवारी दिएका चार जिल्लाका पाँच जना उम्मेदवारमाथि उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार मनोनयन दर्तापछि तोकिएको समयभित्र ती उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको हो ।

निर्वाचन आयोगमा दर्ता भएको विवरण अनुसार सुनसरी, रौतहट, भक्तपुर र कैलाली जिल्लाका उम्मेदवारमाथि उजुरी परेको छ ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका लालबिक्रम थापा, रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका माधवकुमार नेपाल, भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री बिरुद्ध उजुरी परेको छ ।

त्यस्तै, भक्तपुर २ बाटै उम्मेदवारी दिएकी नेपाल जनसेवा पार्टीकी जानुका पाठक र कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका रेशमलाल चौधरी विरुद्ध उजुरी परेको छ ।

लालबिक्रम थापा विरुद्ध उम्मेदवारीका कागजात तथा योग्यतासम्बन्धी विषय उठाउँदै उजुरी दर्ता गरिएको छ भने माधवकुमार नेपाल विरुद्ध प्रचलित कानूनअनुसार उम्मेदवार बन्न नपाउने अवस्था रहेको दाबी गर्दै उजुरी परेको छ । उनीविरुद्ध विचाराधीन मुद्दा तथा कानुनी अयोग्यताको प्रश्न उठाइएको बताइएको छ ।

राजीव खत्री विरुद्ध मनोनयन प्रक्रियासम्बन्धी विषय उठाउँदै उजुरी दर्ता गरिएको छ । सोही क्षेत्रबाट उम्मेदवारी दिएकी जानुका पाठक विरुद्ध नागरिकता तथा व्यक्तिगत विवरणमा फरक देखिएको दाबी गर्दै उजुरी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

रेशम चौधरी विरुद्ध पनि उजुरी परेको उजुरीमाथि छानबिनपछि निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरिसकेको छ ।

निर्वाचन आयोगका अनुसार उजुरी परेका उम्मेदवारहरूको हकमा सम्बन्धित निर्वाचन अधिकृतले कागजात अध्ययन, पक्ष-विपक्षको सुनुवाइ तथा कानुनी परीक्षण गरी निर्णय गर्ने प्रक्रिया अघि बढाइएको छ ।

आयोगले उजुरीका आधारमा कानून विपरीत ठहरिए उम्मेदवारी खारेज हुने र पर्याप्त आधार नपुगे उम्मेदवारी कायम रहने स्पष्ट पारेको छ ।

निर्वाचन आयोगले उजुरीसम्बन्धी निर्णयपछि प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।