डा. बाबुराम भट्टराईद्वारा गोरखा-२ बाट उम्मेदवारी फिर्ता

दियोपोस्ट संवाददाता  

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि गोरखा-२ बाट दिएको आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्।

डा.भट्टराईले नयाँ पुस्तालाई अगाडि ल्याउनु आवश्यक रहेको र नयाँलाई नेतृत्व हस्तान्तरण गर्दै अभिभावकीय भूमिका निर्वाह गगर्दै उम्मेद्वारी फिर्ता लिएका हुन्।

उनले भनेका छन्, “देशमा राजनीतिक परिवर्तन मात्र पर्याप्त हुँदैन, आर्थिक, सामाजिक र युवा रोजगारमा तीव्रता ल्याउन जरुरी छ। संविधानमा सुधार, राष्ट्रिय स्वाधीनताको रक्षा, शान्ति सम्झौताको कार्यान्वयन र तीव्र आर्थिक विकासका लागि म संसद्मा नरहेको अवस्थामा पनि भूमिका निर्वाह गर्न चाहन्छु।”

डा. भट्टराईले आफूले सुरु गरेको नयाँ शक्ति अभियान, रास्वपा र प्रगतिशील लोकतान्त्रिक पार्टी लगायतका दलहरूलाई सल्लाह र सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। उनले आफ्नो सन्देशमा समर्थक, पार्टीका साथी र आम जनताको साथका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि देश र समाजको सेवामा सक्रिय रहिरहने वचन दिएका छन्।

डा. भट्टराईले प्रारम्भमा गोरखा-२ बाट प्रतिनिधि सभा चुनावमा भाग लिने निर्णय गरेका थिए ।