सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको नाम सार्वजनिक, ३५ दिनभित्र साँवा-ब्याज बुझाउन निर्देशन

दियोपोस्ट संवाददाता  

काठमाडौँ । सरकारले लामो समयसम्म तिर्न बाँकी रहेको रकम नबुझाएका ५२ व्यक्ति तथा संस्थाको नाम सार्वजनिक गरेको छ। महालेखा नियन्त्रकको कार्यालय अन्तर्गतको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालय, बबरमहल ले सरकारलाई तिर्नुपर्ने सरकारी बाँकी रकम नतिरेका व्यक्ति तथा संस्थाको तीनपुस्ते विवरणसहित सूची सार्वजनिक गर्दै ३५ दिनभित्र साँवा र ब्याजसहित रकम बुझाउन निर्देशन दिएको हो।

सार्वजनिक सूचीमा विभिन्न राजनीतिक, सामाजिक तथा व्यवसायिक क्षेत्रका व्यक्ति तथा स्वदेशी-विदेशी कम्पनीहरूको नाम समावेश छन्। उनीहरूले सरकारसँग लिएको ऋण, कर, दस्तुर वा अन्य सरकारी बक्यौता लामो समयसम्म नतिरेको पाइएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार तोकिएको समयसीमाभित्र रकम नबुझाए प्रचलित कानुनअनुसार असुलउपर प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ। ३५ दिनको म्यादभित्र साँवा र ब्याज नतिरे सम्पत्ति रोक्का, नाम कालोसूचीमा राख्ने लगायतका कानुनी प्रक्रिया अपनाइने चेतावनी दिइएको छ।

सूचीमा पूर्व कर्मचारी, ठेकेदार, निर्माण व्यवसायी, व्यापारिक फार्म, सहकारीसँग सम्बन्धित व्यक्ति, तथा केही अमेरिका र यूएईमा दर्ता भएका विदेशी कम्पनीहरू समेत रहेका छन्। कतिपयले दशकौँअघिदेखि सरकारलाई तिर्नुपर्ने रकम हालसम्म चुक्ता नगरेको विवरणमा उल्लेख छ।

महालेखा नियन्त्रकको कार्यालयले सरकारी बाँकी रकम असुलीलाई प्रभावकारी बनाउन पछिल्लो समय नाम सार्वजनिक गर्ने नीति अपनाएको जनाएको छ। यसले सार्वजनिक दबाब सिर्जना गरी सरकारी राजस्व संकलनमा सहयोग पुग्ने विश्वास कार्यालयको छ।

सरकारले पटक-पटक सूचना जारी गर्दा पनि रकम नबुझाएपछि अन्तिम उपायका रूपमा नाम सार्वजनिक गर्नुपरेको कार्यालय स्रोतको भनाइ छ। अब तोकिएको समयसीमाभित्र सम्बन्धित व्यक्ति तथा संस्थाले रकम बुझाउँछन् कि कानुनी कारबाहीमा जान्छन् भन्ने विषय चासोको रूपमा हेरिएको छ।

 

सिफारिस