काठमाडौं । राष्ट्रिय सभाका रिक्त पदका लागि आज सातै प्रदेशमा मतदान सुरु भएको छ। निर्वाचन आयोगका अनुसार बिहानदेखि नै निर्धारित मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।
राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत सातै प्रदेशमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरूले मतदान गरिरहेका छन्। निर्वाचन आयोगले आजै मतगणना सुरु हुने जानकारी दिएको छ।
कोशी प्रदेशमा मोरङको बिराटनगर, मधेस प्रदेशमा धनुषाको जनकपुरधाम, बागमती प्रदेशमा मकवानपुरको हेटौंडा, गण्डकी प्रदेशमा कास्कीको पोखरा, लुम्बिनी प्रदेशमा दाङको घोराही, कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशमा कैलालीको धनगढीमा मतदान भइरहेको छ।
निर्वाचन आयोगका अनुसार मतदान प्रक्रिया निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको छ। सुरक्षा व्यवस्था पनि कडा बनाइएको आयोगले जनाएको छ।
मतदान सम्पन्न भएपछि आजै मतगणना सुरु हुने र परिणाम क्रमशः सार्वजनिक गरिने निर्वाचन आयोगले जानकारी दिएको छ।