राष्ट्रिय सभा निर्वाचनः १७ सिटका लागि मतदान सम्पन्न

दियोपोस्ट संवाददाता  

काठमाडौं । राष्ट्रिय सभाका रिक्त १८ सिटमध्ये १७ सिटका लागि आज देशभर निर्वाचन सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।

राष्ट्रिय सभामा आगामी फागुन २० गतेदेखि पदावधि सकिने १८ जना सदस्यको स्थानपूर्तिका लागि निर्वाचन गरिएको थियो । तीमध्ये कोशी प्रदेश अन्तर्गत खस–आर्य समूहको एक सिटमा नेपाली कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकी १७ सिटका लागि आज मतदान भएको हो।

प्रदेशगत रूपमा महिलातर्फ ६, आदिवासी जनजाति ५, दलित ३, अपाङ्गता भएका वा अल्पसंख्यक २ र अन्य समूह १ सिटका लागि निर्वाचन भएको आयोगले जनाएको छ। निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहेका छन्।

निर्वाचन आयोगका अनुसार आज रातिसम्म अन्त्मि नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ। आयोगले सबै प्रदेशबाट मतपेटिका सुरक्षित रूपमा संकलन भइसकेको जनाएको छ।

राजनीतिक दलहरूबीच गठबन्धन र प्रतिस्पर्धाका कारण यसपटकको राष्ट्रिय सभा निर्वाचनलाई चासोका साथ हेरिएको छ। कुन दलले कति सिट जित्छ भन्ने विषयले राष्ट्रिय सभाको शक्ति सन्तुलनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले परिणामलाई विशेष महत्वका साथ हेरिएको छ।

निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएपछि विजयी उम्मेदवारहरूको नाम र दलगत सिट विवरण स्पष्ट हुने निर्वाचन आयोगले जनाएको छ।

सिफारिस