राष्ट्रिय सभा निर्वाचनः सातै प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी

दियोपोस्ट संवाददाता  

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत रिक्त १८ सदस्य पदका लागि सम्पन्न निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरूले सातै प्रदेशमा जीत हासिल गरेका छन् । निर्वाचनमा नेपाली कांग्रेसले ९, नेकपा (एमाले)ले ८ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १ स्थानमा उम्मेदवारी दिएका थिए ।

निर्वाचन कार्यक्रमअनुसार कोशी प्रदेशको एक पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए भने बाँकी पदका लागि मतदान भएको थियो । प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता रहेको यस निर्वाचनमा मतभार प्रणालीमार्फत मतगणना गरिएको थियो ।

कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । यस्तै नेकपा (एमाले)का रोशनी मेचे र सोमनाथ पोर्तेल विजयी भएका छन् ।

मधेस प्रदेशमा नेपाली कांग्रेसका धमेन्द्र पासवान र रञ्जित कर्ण, लोसपाका महन्थ ठाकुर तथा नेकपा (एमाले)की रेखाकुमारी झा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।

बागमती प्रदेशबाट नेपाली कांग्रेसकी गीता देवकोटा र प्रेमप्रसाद दंगाल निर्वाचित भएका छन् ।

गण्डकी प्रदेशमा नेकपा (एमाले)की सम्झना देवकोटा र नेपाली कांग्रेसका जगत तिमिल्सिना विजयी भएका छन् ।

त्यसैगरी लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेसका बासुदेव जंगली र चन्द्रबहादुर केसी, तथा नेकपा (एमाले)की रामकुमारी झाक्री राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।

कर्णाली प्रदेशमा नेपाली कांग्रेसका ललितजंग शाही र नेकपा (एमाले)का मीनासिंह रखाल विजयी भएका छन् ।

सुदूरपश्चिम प्रदेशबाट नेकपा (एमाले) की लीलाकुमारी भण्डारी र नेपाली कांग्रेसका खम्मबहादुर खाती निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

सिफारिस