काठमाडौँ । गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा यसको उच्च गरिमा, सम्मान र प्रचलित कानुनअनुसार मात्र प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै झन्डाको दुरुपयोगको घटनामा कानुनअनुसार कडा कारबाही हुने चेतावनी समेत दिएको छ।
मन्त्रालयका अनुसार राष्ट्रिय झन्डा राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक भएकोले यसको प्रयोग मर्यादित, सम्मानजनक र कानूनी दायराभित्र हुनुपर्ने स्पष्ट उल्लेख गरिएको छ। विज्ञप्तिमा झन्डालाई च्यात्ने, जलाउने, जमिनमा तान्ने, फोहोर ठाउँमा राख्ने वा अपमानजनक तरिकाले प्रयोग गर्ने कामहरू कतै पनि नहुनुपर्ने भनिएको छ।
त्यस्तै, व्यापारिक तथा विज्ञापन प्रयोजनमा, कपडा वा शरीरको तल्लो भागमा राष्ट्रिय झन्डाको प्रयोग गर्नु निषेध गरिएको छ। साथै, झन्डाको प्रतीक कम्मरभन्दा माथिको भागमा मात्र प्रयोग गर्न सकिने, शरीरको तल्लो भागमा झन्डाको प्रयोग नगर्न समेत निर्देशन दिइएको छ।
गृह मन्त्रालयले निर्वाचन आचारसंहिता, २०८२ को सन्दर्भ स्मरण गर्दै निर्वाचन सम्बन्धी जुलुस, सभा वा र्यालीमा १० वटाभन्दा बढी राष्ट्रिय झन्डा प्रयोग नगर्न सचेत गराएको छ। यससंगै, प्रचारप्रसारका लागि झन्डाको दुरुपयोग भए कानुनी कारबाही हुने चेतावनी दिएको छ।
कार्यविधि लागू गर्न जिल्लास्तरीय कार्यालयहरूलाई अनुगमन जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ। यसले राष्ट्रिय झन्डाको उच्च गरिमा र मर्यादा कायम गर्न सबै तहका व्यक्तिहरू, राजनीतिक दलहरू र संबन्धित पक्षहरूलाई सचेत बनाउने उद्देश्य राखेको छ ।