ओखलढुङ्गाको भदौरेमा वृद्ध दम्पतीको विभत्स हत्या

दियोपोस्ट संवाददाता  

काठमाडौँ । ओखलढुङ्गा जिल्लाको चिसंखुगढी गाउँपालिका-६ भदौरेमा एक वृद्ध दम्पतीको विभत्स हत्या भएको छ। आफ्नै घरमा किराना पसल सञ्चालन गर्दै आएका दम्पतीको हत्या गरी लुटपाट गरिएको अवस्थामा शव फेला परेको हो।

हत्या गरिएका व्यक्तिहरू बोहोरे टोलमा ८० वर्षीय चन्द्र विक्रम राई र उनकी पत्नी चन्द्रमाया राई रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। दम्पतीको शव घरभित्रै रगतले लतपतिएको अवस्थामा फेला परेको थियो।

प्रहरीका अनुसार हत्या पश्चात् घरभित्र राखिएको नगद र सुनका गर-गहना लुटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनास्थलबाट करिब एक लाख रुपैयाँ नगद तथा सुनका गहना हराएको परिवारजनले बताएका छन्।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको टोली घटनास्थलमा पुगेको थियो। त्यसपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र कोशी प्रदेश प्रहरी कार्यालयको सहयोगमा अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको र दोषीलाई कानुनी दायरामा ल्याइने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

सिफारिस