काठमाण्डौँ । मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) र भोलि (बुधबार) देशका धेरै स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने सम्भावना रहेको जनाएको छ । विशेष गरी पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएपछि मौसममा फेरबदल भइरहेको छ ।
नेपालको धेरै भागमा अहिले आकाश सामान्यतया बादल्को छायाँमा रहने र केही स्थानमा वर्षा भइरहने सम्भावना देखिएको छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीले मंगलबार र बुधबार देशभर वर्षासँगै हिमपातको गतिविधि अधिक सक्रिय बनाउने अनुमान गरिएको छ ।
गण्डकी, कर्णाली, लुम्बिनी तथा सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम हिमपात र वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा हल्का हिमपात र वर्षा हुने र तराई भेगका केही स्थानमा समेत हल्का वर्षा हुनसक्ने सम्भावना रहेको मौसम पूर्वानुमानमा उल्लेख छ ।
महाशाखाले पश्चिमी न्यूनचापीय प्रणाली मंगलबार रातिदेखि पूर्वतर्फ सर्दै जाने भएकाले भोलि (बुधबार)सम्म धेरै स्थानमा वर्षा र हिमपात हुने बताएको छ ।