काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व सांसद ढाका कुमार श्रेष्ठ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष हर्क साम्पाङले श्रेष्ठलाई पार्टीमा स्वागत गरेका हुन्।
पार्टी अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत श्रेष्ठलाई पार्टीमा स्वागत गर्दै अब सँगै काम अघि बढाउने अवसर आएको बताएका छन्।
ढाका कुमार श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभामा (समानुपातिक) सांसद बनेका थिए। उनको एक बिवादित अडियो बाहिरिए पछि श्रेष्ठलाई रास्वपाको अनुशासन समितिले पार्टी सदस्यता र सांसद पदबाट निलम्बन गरेको थियो।
कथित रुपमा सार्वजनिक भएको एक अडियोमा श्रेष्ठले व्यापारी दुर्गा प्रसाइबाट करौडौँ पैसा मागेको सुन्न सकिन्थ्यो । यसपछि रास्वपाले उनलाई पार्टी सदस्यबाट निष्काशित गर्दै सांसद पदबाट हटाउने निर्णय गरेको थियो ।