बारामा आमा-छोराको हत्या, दुई जना गंभिर घाइते

दियोपोस्ट संवाददाता  

काठमाडौँ ।  बाराको परवानीपुर गाउँपालिका-१, रहरियाडीमा आमा-छोराको हत्या भएको छ। प्रहरीका अनुसार बुधबार बिहान ३ बजेको समयमा ३२ वर्षीय रामेश्वर मण्डल र उनकी आमा ५२ वर्षीया सुमित्री देवी मण्डलको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो।

हत्या कसले र किन गरेको भन्ने विषयमा अझै स्पष्ट हुन नसकेको प्रहरीले जानकारी दिए । प्रहरीका अनुसार अज्ञात व्यक्ति वा समूहले घरभित्रै प्रवेश गरी आक्रमण गरेको प्रारम्भिक अनुमान गरिएको छ।

घटनामा मृतक रामेश्वरका बुवा र बहिनी समेत घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको छ। घाइतेको अवस्था मध्यम रहेको चिकित्सकहरूले बताएका छन्।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि पठाएको छ। साथै घटनामा प्रयोग भएको हतियारको खोजी र सम्भावित आरोपीको पहिचानका लागि अनुसन्धान तीव्र पारिएको प्रहरी जनाएको छ।

यस घटनाले स्थानीय क्षेत्रमा त्रास र शोकको वातावरण सिर्जना भएको छ। प्रहरीले घटनाबारे जानकारी भएमा सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरेको छ।

घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सिफारिस