काठमाडौँ । रिपब्लिका मिडिया प्रा.लि.द्वारा प्रकाशित नागरिक दैनिकमा नेपाल पत्रकार महासंघले तालाबन्दी गरेको छ। महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यको नेतृत्वमा पुगेको टोलीले बुधबार रिपब्लिका मिडिया प्रालिका कार्यकारी अधिकृत (सिइओ) को कार्यकक्षमा ताला लगाएको हो।
महासंघले चार बुँदे माग पूरा नभएसम्म तालाबन्दी नखोलिने स्पष्ट पारेको छ। नागरिक दैनिकले करिब एक वर्षदेखि श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिएको, अनावश्यक रूपमा सरुवा गरेको तथा कार्यरत तीन जना पत्रकारमाथि मुद्दा दायर गरेको वरिष्ठ उपाध्यक्ष आचार्यले जानकारी दिए ।
यस्तै मिडिया हाउसलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत नगरिएको, कार्यरत पत्रकारमाथि विभेद गरिएको र गत साउन २२ गते महासंघसँग गरिएको सम्झौता कार्यान्वयन नगरेको आरोप छ।
‘मिडिया हाउसले पहिलोपटक श्रमजीवी पत्रकार र महासंघविरुद्ध नै मुद्दा दायर गरेको छ,’ आचार्यले भने, ‘काम गरेको पारिश्रमिक माग्दा मुद्दा लगाइनु अत्यन्तै आपत्तिजनक छ, जसको जति निन्दा गरे पनि कम हुन्छ।’
महासंघका केन्द्रीय सदस्य सूर्य सुवेदीले तालाबन्दीअघि चार महिनादेखि विभिन्न चरणमा आन्दोलनका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। महासंघ र मिडिया हाउसबीच गत साउन २२ गते चार बुँदे सम्झौता भए पनि त्यसको कार्यान्वयनतर्फ कुनै चासो नदेखाइएको सुबेदीले बताए । ‘सम्झौता कार्यान्वयनबारे पटक-पटक पत्राचार गर्यौं, तर चित्तबुझ्दो जवाफ आएन,’ उनले भने।
माग सम्बोधनका लागि धर्ना, जुलुस, नाराबाजी, सिठ्ठी बजाउने, लालटिन बाल्ने, एक रुपैयाँ दान अभियानलगायत विभिन्न दबाबमूलक कार्यक्रम गरिए पनि सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भएको सुवेदीले बताए। श्रमजीवी पत्रकारले न्याय नपाएसम्म आन्दोलन निरन्तर जारी रहने उनले स्पष्ट पारे।