काठमाडौँ । बारा जिल्लाको परवानीपुर गाउँपालिका-१, रहरियामा बुधबार बिहान एकै परिवारका आमा-छोराको घाँटी रेटेर हत्या गरिएको घटनामा मृतककी बुहारी र उनका प्रेमी संलग्न रहेको खुलेको छ।
प्रहरीका अनुसार २८ वर्षीय रामेश्वर मण्डल र उनकी ४६ वर्षीया आमा सुमित्रा देवी मण्डलको घरमै धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त हत्या रामेश्वरकी २३ वर्षीया श्रीमती मनिता देवी मण्डल र उनका प्रेमी धर्मेन्द्र महतोको योजनामा भएको पुष्टि भएको प्रहरीले जनाएको छ।
घटना बुधबार बिहान भएको हो। घरभित्रै सुतेको अवस्थामा आमाछोरामाथि आक्रमण गरी घाँटी रेटिएको अवस्थामा शव फेला परेको थियो। घटनापछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। सूचना पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो।
प्रहरी अनुसन्धानमा मनिता देवी मण्डल र धर्मेन्द्र महतोबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको र सोही सम्बन्धका कारण पारिवारिक विवाद बढ्दै गएको खुलेको छ। प्रारम्भिक बयान र संकलित प्रमाणका आधारमा उनीहरूकै योजनामा हत्या गरिएको निष्कर्षमा प्रहरी पुगेको हो।
प्रहरीले मनिता देवी मण्डल र धर्मेन्द्र महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ। घटनामा प्रयोग भएको धारिलो हतियारको खोजी तथा घटनामा अन्य व्यक्तिको संलग्नता भए-नभएको विषयमा पनि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय, बाराले जानकारी दिएको छ।