
काठमाडौं । राजधानीमा नगद तथा सुन लुटपाटमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले काठमाडौंको मूलपानीबाट गोली प्रहार गरी १० जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा काभ्रेको भुम्लु गाउँपालिका-३ घर भएका २३ वर्षीय विनय तामाङ, सिन्धुली मरिण गाउँपालिका–५ का २४ वर्षीय आयन माझी, मरिण ७ का ३२ वर्षीय सविन माझी, खोटाङ ज्वलेर्सका कामदार समेत रहेका मोरङ पथरीका २३ वर्षीय मनिस रमाइली, काभ्रेको चौरी देउरालीका १ का २९ वर्षीय पेमा तामाङ रहेका छन् ।
त्यसैगरि चौरी देउराली १ कै २० वर्षीय सलोन तामाङ, काभ्रेको भुम्लु १ का १८ वर्षीय राजिब भण्डारी, रामेछापको दोरम्भा ८ का ३२ वर्षीय बिशाल तामाङ, खोटाङ घर भएका सुनचाँदी कालिगढ २८ वर्षीय बिदुर विश्वकर्मा र सिन्धुपाल्चोकको लिसंखुपाखर ३ का २९ वर्षीय फुर्वा तामाङ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरु काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुटपाटका घटनामा संलग्न रहँदै आएका थिए । विशेष अनुसन्धान तथा निगरानीका क्रममा उक्त समूहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ गर्ने क्रममा उनीहरूले प्रहरीमाथि प्रतिरोध गरेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरीको भनाइ छ ।
गोली चलाउँदा केही अभियुक्त घाइते भएका छन् । घाइतेहरूको अवस्था खतरामुक्त रहेको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूबाट नगद रकम, सुनका गरगहना तथा लुटपाटमा प्रयोग गरिएका सामग्रीसमेत बरामद गरिएको छ ।
प्रहरीले पक्राउ परेकाहरू संगठित रूपमा लुटपाट गर्ने गिरोहमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । उनीहरूविरुद्ध डकैती तथा संगठित अपराधसम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइएको छ ।