काठमाडौँ । विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालबाट केन्द्रीय सदस्य तथा सचिवालय सदस्य धनकुमारी सुनारसहित १३ जनाले पार्टी परित्याग गरेका छन्।
नेतृत्वको कार्यशैली, वैचारिक दिशा र संगठन सञ्चालनप्रति गम्भीर असहमति जनाउँदै उनीहरूले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन्।
विज्ञप्तीमा पार्टी नेतृत्व वैज्ञानिक समाजवादको मूल मर्मअनुसार अगाडि बढ्न नसकेको, निर्णय प्रक्रिया व्यक्ति केन्द्रित बन्दै गएको तथा आन्तरिक आलोचना–आत्मालोचनाको लोकतान्त्रिक अभ्यास कमजोर हुँदै गएको आरोप लगाइएको छ।
पार्टीले पुराना कम्युनिस्ट आन्दोलनका कमजोरीहरू आत्मसात् नगरी नयाँ युगअनुकूलको वैचारिक र संगठनात्मक विकास गर्न नसकेको निष्कर्षसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ।
पार्टी नेतृत्व तथा मूल संरचनामा गहिरो आर्थिक असमानता कायमै रहेको, उत्पादन समितिसम्बन्धी नीति तथा ठोस योजना अभावका कारण पार्टी व्यवहारतः असफल दिशातर्फ उन्मुख भएको उनीहरूको ठहर छ।
विज्ञप्तिमा पार्टी स्थापना पछिका वर्षहरूमा देशको कुनै पनि भूगोलमा जनआधार विस्तार गर्न नसकेको, आन्दोलन र क्रियाकलाप सीमित व्यक्तिहरू र घेराभित्रै सिमित भएको उल्लेख गरिएको छ। यस्ता कारणले अब उक्त पार्टीसँग सहकार्य सम्भव नरहेको निष्कर्ष निकाल्दै सामूहिक रूपमा पार्टी परित्याग गरिएको जनाइएको छ।
पार्टी परित्याग गर्नेहरूमा केन्द्रीय सदस्य धनकुमारी सुनारसहित गणेश रसाइली, यशोदा बराल, विक्रम सुनार, तुलसी परियार, प्रिया बराल, दिपा राना, हेमा सुनार, संगीता सिंजापति, सुमित्रा खाती, शर्मिला जीआर, कमला जिरी र रीता नेपाली रहेका छन्।
उनीहरूले आगामी राजनीतिक यात्राबारे भने हाल स्पष्ट नगरेको विज्ञप्तिमा उल्लेख छ।
