काठमाडौं, माघ १३ । नेपालका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले अर्धशतक पूरा गर्ने विश्वकै कम उमेरको खेलाडीको रेकर्ड राखेका छन् । युएईविरुद्धको दोस्रो एकदिवसीय खेलमा शनिबार रोहितले ५७ बलमा ७ चौकासहित ५५ रनको योगदान दिँदै भारतीय क्रिकेटर सचिन तेन्दुलकरको रेकर्ड तोडेका हुन् ।
सचिनले १६ वर्ष २ सय १३ दिनको उमेरमा अर्धशतक बनाएको रेकर्ड रोहितले १६ वर्ष १ सय ४६ दिनको उमेरमा तोडेका छन् । पाकिस्तानका साहिद अफ्रिदीले १६ वर्ष २ सय १७ दिनमा अर्धशतक पूरा गरेका थिए । रोहितको अर्धशतकसँगै नेपालले युएईमाथि १ सय ४५ रनको सानदार जितसमेत निकालेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को आधिकारिक वेभ पोर्टलमा नेपालका रोहितकुमार एकदिवसीय खेलमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने क्रिकेटर बनेको समाचार सम्प्रेषण भएपछि अन्तर्राष्ट्रिय मिडियाले उनलाई पछ्याउन थाले । तर, दुबईको आइसिसी एकेडेमी रंगशालामा विश्व रेकर्ड बनाउँदासम्म पनि रोहितलाई सचिनको रेकर्ड तोडेको पत्तो थिएन ।
‘मैले रेकर्डबारे सुनेँ, यो मलाई सपनाजस्तो लागेको छ,’ दुबईमा रहेका नेपाली खेलपत्रकारसँग रोहितले भने, ‘यस्तो रेकर्ड बनाउँछु वा तोड्छु भन्ने कहिले पनि सोचिनँ । रेकर्ड बन्दा निकै खुसी छु ।’ लगातार घरेलु टी–२० क्रिकेटमा राम्रो प्रदर्शन गरेका कारण पनि राष्ट्रिय टोलीमा गतिलो योगदान दिन प्रयासरत रहेको उनले बताए । ्
सोमपाल कामी : १०औँ क्रमको ब्याटिङमा सबैभन्दा बढी रन लिने ब्याट्सम्यान
१४ नोभेम्बर २०१४ मा कोलम्बोमा भएको टी–२० को चौथो तथा अन्तिम खेलमा सोमपालले १०औँ क्रममा ब्याटिङ गरी ४० रन जोड्दै विश्व रेकर्ड बनाएका हुन् । उनले ३१ बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए । खेल भने २ विकेटले हङकङले नै जितेको थियो । सोमपालपछि साउदी अरेबियाका मोहमद अदनानले १०औँ क्रममा ३८ रन जोडेका छन् ।
मेहबुब आलम : एकै खेलमा १० ब्याट्सम्यान ढाल्ने बलर
बायाँहाते बलर मेहबुब आलमको नाममा दुर्लभ विश्व कीर्तिमान छ । सन् २००८ मा जर्सीमा भएको आइसिसी डिभिजन–५ मा मेहबुबले मोजाम्बिकविरुद्ध १० विकेट लिँदै दुर्लभ विश्वकीर्तिमान बनाए । आइसिसीको आधिकारिक खेलमा १० ब्याट्सम्यानलाई आउट गराउने मेहबुब नै एक्ला बलर हुन् । उनले ७ दशमलव ५ ओभरमा १२ रन खर्चेर १० विकेट लिएका थिए । नयाँपत्रिका दैनिकबाट