ए डिभिजन लिगः संकटाबिरुद्ध नेपाल पुलिस क्लवको जित

दियो पोस्ट  

काठमाडौँ, पुष १६ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले दोस्रो जित हाँसिल गरेको छ । बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा संकटालाई २–१ गोलले पराजित गर्दै पुलिसले लिग चरणमा लगातार दोस्रो जित निकालेको हो ।

पुलिसको जितमा सुमन लामाले दुबै गोल गरेका हुन् । उनले खेलको १५ औँ मिनेट र १८ औँ मिनेटमा गोल गरेका थिए । पहिलो प्रहार विपक्षी खेलाडी अमितलाई लागेर गोलमा परिणत भएको थियो । ३३ औं मिनेटमा सौजन राईको पासमा सुमनले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–१ को अग्रता दिलाएका थिए । यसअघि खेलको १८ औँ मिनेटमा संकटाले पुलिसबिरुद्ध गोल गर्दै खेललाई बराबरीमा पुर्याएको थियो ।

खेलको दोस्रो हाफमा दुबैे टिमको तर्फबाट गोलको प्रयासहरु भएपनि गोल थप हुन सकेनन् । खेलमा सुमन म्यान अफ दि म्याच चुनिए ।

जितसँगै पुलिसले ४ खेलमा ७ अंक जोडेको छ । पुलिस लिगको पाँचौ स्थानमा उक्लिएको छ ।

संकटाले ४ खेलमा ४ अंक जोडेको छ । संकटाको यो दोस्रो हार हो । संकटा लिगको दशौँ स्थानमा छ ।