‘घुम्न जाऔँ अमरगढी’ अभियानमार्फत डडेलधुराबाट संचारमन्त्रीले गरे भ्रमण वर्षको सुभारम्भ

दियो पोस्ट  

डडेल्धुरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले डडेल्धुराबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ को सुभारम्भ गरेका छन् । अमरगढी नगरपालिकाले भ्रमण वर्ष २०२० लाई लक्षित गरी सञ्चालन गरेको ‘घुम्न जाऔं अमरगढी’ अभियानको उनले शुभारम्भ गरेका हुन् ।

उक्त अभियानको सुभारम्भ गर्नुहुँदै मन्त्री बाँस्कोटाले सुदूरपश्चिम पर्यटकीय क्षेत्रमा निकै धनीभएकाले यहाँका पर्यटकीय स्थलको प्रचारप्रसार गर्न सके सुदूरको विकास गर्न कुनै समय नलाग्ने बताए ।

मन्त्री बाँस्कोटाले भने, “सुदूरमा विकास भएन भनेर चिन्तित नबन्नोस्, पर्यटकीयस्थलको मात्रै प्रचारप्रसार गर्न सके विकास आफै हुनेछ ।”

मन्त्री बाँस्कोटाले डोटीको खप्तड, बडिकेदार, शैलेश्वरी, अछामको बैद्यनाथ, बाजुराको बडिमालिका, दार्चुलाको मालिकार्जुन, डडेल्धुराको उग्रतारा, घटालथान, कञ्चनपुरको शुल्काफाँटा निकुञ्ज, कैलालीको घोडाघोडी, बझाङ्को साइपाललगायतका ठाउँको प्रचारप्रसार गर्नसके सुदूरपश्चिम आफैमा धनी हुनेसमेत बताए ।

भ्रमण वर्ष २०२० को सुभारम्भ गर्नका लागि डडेल्धुरा पुग्नुभएका मन्त्री बाँस्कोटाले आजै त्यहाँका प्रशिद्ध धार्मिकस्थल उग्रतारा मन्दिर, घटालथान बाबा मन्दिरकोसमेत दर्शन गरे ।

अमरगढी नगरपालिका–५ मा रहेको बडाकाजी अम्मरसिंह थापाले निर्माण गरेको ऐतिहासिक अमरगढी किल्लासमेत मन्त्री बाँस्कोटाले आजै अवलोकन भ्रमणसमेत गरे।

अमरगढी भ्रमणका क्रममा मन्त्री बाँस्कोटाले अमरगढी किल्लालाई देश विदेशमा चिनाउन नगरपालिकाले विशेष पहल गर्नुपर्ने धारणा राखे । रासस