
काठमाडौँ, पुष १८ । तीन नम्बर प्रदेश प्रहरी कार्यलयको १२ घण्टे अल्टिमेटम पछि एसपी दानबहादुर मल्लले जिल्ला प्रहरी कार्यलय चितवनको नेतृत्व छाडेका छन् ।
सरुवा भएको दुई हप्ता बितिसक्दा पनि चितवन नछाडेपछि एसपी मल्ललाई ३ नम्बर प्रदेश प्रहरी कार्यलयले चितवन छाड्नका लागि १२ घण्टे अल्टिमेटम दिएको थियो ।
एसपी मल्लले जिल्ला प्रहरी कार्यलय चितवनका डिएसपीलाई चार्ज बुझाउँदै रवाना लिएका हुन् ।
प्रहरी प्रधान कार्यलयले पुष ४ गते नै एसपी मल्ललाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सरुवा गरेको थियो । जिल्ला प्रहरी कार्यलय चितवनको नेतृत्वमा भने एसपी गंगा पन्तलाई पठाएको थियो । सरुवा भएको दुई सातासम्म पनि जिल्ला नछाडेपछि एसपी मल्लको चौतर्फी आलोचना समेत भएको थियो ।