काठमाडौँ, पुष २२ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगाना नियुक्त भएका छन् । मन्त्रीपरिषदको सोमबार बसेको वैठकबाट ढुंगानालाई आगामी चार बर्ष कार्यकालको लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अर्थशास्त्रमा एमए र बेलायतबाट बिजनेस फाइनान्समा एमबीए गरेका ढुंगाना नेपाल राष्ट्र बैँकको कार्यकारी निर्देशकबाट अवकाश पाएका ब्यक्ति हुन् । अध्यक्ष पदमा नियुक्त हुनुअघि ढुंगाना बोर्डकै विज्ञ सदस्य थिए । नेपाल राष्ट्र बैँकमा रहँदा ढुंगानाले विदेशी विनिमय विभागलगायत महत्वपुर्ण विभागहरुको जिम्मेवारी सम्हालेका थिए ।
यसअघि बोर्डका अध्यक्ष पदमा डा. रेवत बहादुर कार्की रहेका थिए । कार्कीको कार्यकाल सकिएलगत्तै बोर्डको अध्यक्ष पदका लागि छनौट समिति गठन गरिएको थियो । उक्त समितिले अध्यक्ष पदको लागि ढुंगानासहित निरज गिरी र डा. केशव श्रेष्ठको नाम सिफारिस गरेर पठाएको थियो । उक्त नामावलीबाट मन्त्रीपरिषदले ढ्ंगानालाई बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो ।