आयोजक टोलीलाई १० विकेटले हराउँदै आर्मी एमएम कपको सेमिफाइनलमा

दियो पोस्ट  

काठमाडौँ, पुष २२ । विभागीय टिम त्रिभुवन आर्मी क्लब मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इनरुवामा मंगलबार आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टर ९एमएमसीसी० लाई १० विकेटले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो ।

इनरुवा रंगशालामा एमएमसीसीले दिएको ५७ रनको लक्ष्य आर्मीले ५ ओभरमा बिना विकेटको क्षतिमा पुरा गर्यो । आर्मीका लागि कुशल मल्लले अविजित ३५ रन जोड्दा हरिकृष्ण झाले अविजित २० रन बनाए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको एमएमसीसी १९ ओभर ३ बलमा अलआउट हुँदै ५६ रनमा समेटिएको थियो ।

आर्मीका बलरसामु निरिह एमएमसीसीका सुशान्त तिमल्सिनाले सर्वाधिक १५ रन जोडे। यस्तै सोनु मण्डलले १३ रन बनाए ।

आयोजक टोलीलाई सस्तैमा समट्ने आर्मीका देब्रे हाते स्पिनर सुशन भारीले ह्याट्रिक विकेटसहित ७ विकेट लिए । उनले मात्र १६ रन खर्चिए ।

सुशनले सातौं ओभरको दोस्रो, तेस्रो र चौंथो बलमा विकेट लिंदै ह्याट्रिक पुरा गरेका थिए । खेलको प्लेयर अफ दि म्याच सुशन चुनिए । यस्तै हरि चौहानले २ विकेट लिए ।

जितसँगै त्रिभुवन आर्मी क्लव समुह ए बाट शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको हो । आर्मीले २ खेलमा दुई जितसहित ४ अंक जोडेको छ ।