अमेरिकी रक्षामन्त्री भन्छन्, ‘इराकबाट अमेरिकी सेना फिर्ता हुँदैन’

दियो पोस्ट  

काठमाडौँ, पुष २२ । अमेरिकी रक्षामन्त्रीले इराकमा रहेका अमेरिकी सेना फिर्ता नहुने बताएका छन् । अमेरिकी सैन्य जेनेरलले इराकबाट सेना फिर्ता हुनुपर्ने सुझाव दिँदै लेखेको पत्रको जवाफमा तत्काल सेना फिर्ता गर्ने समय नभएको स्पष्ट पारेका हुन् ।

इराकी संसदले इराकबाट अमेरिकी फौज फिर्ता हुनुपर्ने संकल्प पारित गरेपछि अमेरिकी सैन्य जेनेरलले उक्त पत्र लेखेका थिए । पत्रमा आगाम दिन र सातामा अमेरिकी फौजलाई स्थानान्तरण गर्नुपर्ने सुझाव दिइएको थियो ।

अमेरिकी रक्षा मन्त्रालयले भने उक्त पत्र र अमेरिकाले लिएको अडान मेल नखाएको बताएको छ । अमेरिकी सेना कै एक वरिष्ठ सैन्य अधिकारीले भने उक्त पत्रको भाषा नमिलेको र पत्र गल्तीले पठाइएको बताएको छ ।

इराकमा इरानी सैन्य जेनेरल कासिम सुलेमानीको हत्यापश्चात् अमेरिकी सेनामाथि बढेको खतराबीच यस्तो अन्योल सिर्जना भएको हो। राष्ट्रपति ट्रम्पको आदेशमा गत शुक्रवार सुलेमानी मारिएका थिए।
उक्त घटनापश्चात् मध्यपूर्व क्षेत्रमा तनाव बढेको छ।

सैनिक कमाण्डरको हत्यापश्चात इरानले पनि अमेरिकासँग बदला लिने बताएको छ । विगतदेखि नै तिक्तता रहेको अमेरिका इरान सम्बन्ध कासिम सुलेमानीको हत्यापश्चात थप संकटमा परेको हो । यता इराक आफ्नो देशबाट अमेरिकी सेना फिर्ता हुनुपर्ने पक्षमा रहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले भने इरानबाट सैनिक फिर्ता गर्नुपर्ने कडा प्रतिवन्ध लगाउने बताउँदै आएका छन् ।