
काठमाडौं । ठिमीस्थित चक्रवती हबी एजुकेशन एकेडेमी कलेज अफ नर्सिङ साइन्स कलेजमा भर्ना भएका ३० जना बिद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । अदालतको आदेशले आफू अध्ययनरत कलेज नै खारेजीमा परेपछि उनीहरुले सिंहदरबार अगाडि आत्मदाह गर्ने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा मंगलबार आयोजित पत्रकार सम्मेलमा पीडित विद्यार्थी संघर्ष समितिले आन्दोलनको घोषणा गर्दै आत्मदाहसम्म गर्ने चेतावनी दिएका छन्। “हामीमाथि अन्याय हुँदा पनि सुनुवाई हुँदैन भने आत्मदाह गर्न बाध्य हुनेछौ”, पीडित विद्यार्थी संघर्ष समितिकी संयोजक अनुष्का चौलागाईंले भनिन्।
अदालतको आदेशले उक्त कलेज खारेजीमा परेपछि उनीहरू परीक्षा दिनबाट वञ्चित भएका थिए। उनीहरुले सीटीइभीटीदेखि शिक्षा मन्त्रालयसम्म धाउँदा पनि परीक्षा दिन नपाएपछि दुई वर्ष नर्सिङ अध्ययन खेर गएको थियो। पत्रकार सम्मेलनमा छात्रा अनुष्का चौलागाईँले कलेजको गल्तीको सजाय आफूहरूले पाउन नहुने बताइन्। सरकारले आफूहरुलाई न्याय नदिए कडा कदम चाल्न बाध्य हुने उनको भनाइ थियो।
पीडित विद्यार्थी संघर्ष समिति चक्रवर्ती नर्सिङ कलेजकी अध्यक्ष प्रेमिका शाही सिटिईभिटी र कलेजबीचको विवादको कारण विद्यार्थीले समस्या भोग्नु परेको जानकारी दिइन्। उनले कात्तिक ४ मा सर्वोच्चले कलेज खारेजीको फैसला गरेपछि शिक्षामन्त्रालय जाँदा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उल्टै विद्यार्थीको गल्ती देखाएर गैरजिम्वेवारीपूर्ण जवाफ दिएको खुलाइन्। उनले भनिन्, “हामीलाई उल्टै गल्ती गरेको भनियो। राज्यको जिम्मेवार अधिकारीले हामीलाई थप पीडित बनाए ।”
२०७५ सालमा भर्ना भएका ३० जना छात्राहरूलाई कलेजले बिचल्लीमा पारेपछि अधिकारका लागि निरन्तर लड्दै आएको शाहीले बताइन्। २२ साउनमा सीटीईभीटीलाई अदालतले स्टे अर्डर दिए पनि २०७६ सालमा कलेज खारेज भएको बताइन्। नर्सिङका छात्राहरुले दिन लागेको परीक्षा सीटीईभीटीले रोकेको खुलाइन्। सीटीईभीटीसँग कुरा गर्दा समस्याको समाधान गर्ने आश्वासन दिए पनि समस्या भने जस्ताको तेस्तै रहेको प्रेमिका शाहीले बताइन्।
शाहीले आफूहरूले हतारमा कलेजबाट सबै पैसा फिर्ता लिए पनि बितेको समय र अध्ययनमा खर्चिएको परिश्रम नफर्कने बताइन्। उनले भनिन्, “अब हामी अनसन, धर्ना हुँदै आत्मदाहको कदम चाल्नसमेत बाध्य हुनेछौं।” विद्यार्थीको हक हितमा सक्रिय संगठनले पनि आफूहरुलाई सहयोग नगरेको गुनासो उनको छ। शाहीले विद्यार्थी संगठनहरुलाई गम्भीर ढंगले समस्याको समाधान गरिदिन आग्रह गरेकी छिन्।
पत्रकार सम्मेलनमा परीक्षा दिन नपाएर पीडामा परेका ३० जना विद्यार्थी उपस्थित थिए। उनीहरुले आँसु बगाउँदै आफूहरुलाई न्याय दिनका लागि संघर्षमा साथ दिन सबैसँग आग्रह गरेका थिए।