
काठमाडौँ, पुष २५ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत र कथा वाचन शुक्रबारदेखि सुरु भएको छ ।
नेपाली हिन्दू धर्मावलम्बी महिलाले एक महिना स्वस्थानी व्रत र माघ स्नान गर्छन् । पौष शुक्ल पूर्णिमाको अघिल्लो दिनै हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ ।
बिहान माघ स्नान गरी मध्याहृनकालमा महादेवको पूजा गरिन्छ । बेलुकी ‘स्कन्द पुराण’को केदार खण्डअन्तर्गत माघ महात्म्यको कुमार अगस्त्यबीच संवाद भएको ‘स्वस्थानी व्रत कथा’ घर घरमा सुन्ने र सुनाउने गरी स्वस्थानीको प्रसाद र नैवेद्य ग्रहण गरिन्छ ।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइन्छ ।
चढाइएका प्रसादमध्ये सबैबाट आठरआठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने ब्रत विधि छ ।
सय रोटी आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा व्रतालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो ।
उत्तरायणपछिको समय ध्यान, योग र साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्मको समय राम्रो मानिन्छ ।
सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी र चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ । स्वस्थानीका चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी व्रतकथामा उल्लेख गरिएको छ ।
यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोगव्याधि लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथा समेत प्रचलित छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाउँ, भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नागनागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ ।
गोमा ब्राहृमणीले सप्तर्षिले सिकाएको व्रतविधि अनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथा समेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिए ।
यस अवसरमा आजैदेखि एक महिनासम्म काठमाडौँ उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालीनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्छ ।
व्रतको नियम
प्रत्येक वर्ष पौषशुक्ल पूर्णिमाका दिनदेखि यस व्रतको सुरुवात हुन्छ । पौष शुक्ल चतुर्दशीको दिन हातखुट्टाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर व्रतको आरम्भ गर्नुपर्दछ ।
यसरी पवित्र भएर हविष्य (दुध दहि, जौं, गौं चामल, तिल घ्यू, सख्खर इत्यादीको सात्विक पदार्थहरू) भोजन ग्रहण गर्नुपर्दछ ।
सोहि दिन श्रीस्वस्थानी माताको स्थापनारपूजा स्थान सरसफाई गरी लिपपोत गर्नु पर्दछ । व्रतकाल भरी भूमिमा शयन गर्नु पर्दछ ।
दिनको एक छाक मात्र सात्विक भोजन ग्रहण गर्नु पर्दछ । व्रत समापन नहुन्जेल पुरुष ब्रतालुले रौं काट्न हुदैन । यस एक महिनाको अवधिमा सत्य बोल्ने, झगडा नगर्ने जथाभावी नहिँड्ने र एकभक्त भएर ईश्वरको पूजामा सामेल हुनुपर्छ भन्ने मान्यता छ ।
साथै महिनाभरि अनिवार्य ब्रह्मचर्यको पालन गर्नुपर्दछ । शुद्घ वा धोएका वस्त्रहरु पहिरीने र शौच गए पछी हरेक पटक पवित्र जल छर्केर शुद्ध हुनुपर्छ । व्रतको पहिलो दिन अर्थात पौष शुक्ल पूर्णीमाका दिन बिहानै उठी नदिमा स्नान ९नदि नभए घरमा तर शौचालय नजाडिएको अलग्गै स्थानमा० गरी शुद्घ वस्त्र पहिरिएर कुशको आसनमा नभए ऊनको त्यो पनि नभए कम्मलको आसनमा बसेर पूजा गर्नुपर्दछ ।
त्यसपछि तामाको लोटामा पञ्चगब्य अर्थात गोबर, गोमुत्र, दुध, दहि र घ्यूका साथै तिल, सरस्यु र जौ हाली वेद मन्त्रले अभिमन्त्रित गरी अभिशेक बनाएर ‘अपवित्रः पवित्रो वा’ भन्ने मन्त्रले सम्पूर्ण पूजा सामग्री र आफूमाथि छर्कनु पर्दछ ।
त्यसपछी त्यसै अभिशेक बाट ‘मैले आजसम्म मन, वचन र कर्मले जानी नजानी गरेका सम्पूर्ण पाप नाश भई मलाई यस लोकमा सुख शान्ति प्राप्त भई अर्को लोकमा शिवलोक प्राप्ति होस् भन्ने कामना सहित एक महिना सम्म श्रीस्वस्थानी माताको नियम अनुसार व्रत बस्नेछु’ भनी संकल्प गर्नुपर्दछ ।
त्यसपछी आफूले विगतमा खाएका अभक्ष पदार्थको प्रायश्चित वा शुद्धिका लागी गोदान ९सके गाई नसके गोबरमा यथासक्य भेटी वा सुवर्ण राखी गोदान० गर्नु पर्दछ । गोदानपछि दिप, गणेश र कलशको पूजा गर्नु पर्दछ ।
दिप गणेश र कलशको पूजा सम्पन्न भैसके पछी एउटा तामाको थालीमा रक्त चन्दनले अष्टदल कमल बनाई कमलको बिचमा श्रीस्वस्थानी माताको सुनको प्रतिमा ९नसके यथासक्य भेटि राखि० स्थापना गर्नु पर्दछ ।
अष्टदल कमलको वरिपरि क्रमशः वैष्णवी, ब्राह्मी, माहेश्वरी, कौमारी, बाराही, इन्द्राणी, चामुण्डा र महाकालीको स्थापना र पूजा गर्नु पर्दछ । त्यसपछि प्रत्येक मध्यान्नमा श्रीस्वस्थानी माता र श्री महादेवको आरधना गर्नुपर्दछ ।
दिप, गणेश र कलश को पूजा गर्नुका साथै अष्टमात्रिका र श्रीस्वस्थानी माताको पूजा आचमन, अर्घ, पाद्य, पंचामृत, चन्दन, धूप, दिप, नैबेद्य, बस्त्र, भेटी, सुपारी, सिन्दुर, अबिर, सौभाग्यद्रब्य, सेलरोटी, हलुवा इत्यादी चढाउनु पर्दछ ।
पूजा सकेपछि फूललिई हात जोडेर एकचित्त एक भक्तिका साथ श्रीस्वस्थानी माताको निम्न मन्त्रले ध्यान गरि साष्टाङ्ग दण्डवत् गर्नु पर्दछ स्
सुवर्ण–वर्ण–दीप्ताभां त्रिनेत्रां कमलाननाम् ।
सिंहासन–समासीनां सर्वालंकार–भूषिताम् ।।
नीलोत्पल–धरां वामे , दक्षिणे वरदां शुभाम् ।
खड्ग–चर्मधरां चोध्र्वं वामदक्षिणयोः क्रमात ।।
चतुर्भुजां च मां वाऽपि पूजयेत् वृषकेतुनम् ।
एवं ध्यात्वा महादेवीं स्वस्थानीं जगदिश्वरीम् ।।
अर्थात सुनको जस्तै दिब्य पित वर्ण भएकी, तीन नेत्र भएकी, कमल पुष्प झैं प्रसन्न मुख मण्डल भएकी, विविध आभुषण हरुले शोभायमान भई सिंहासनमा विराजमान भएकी, खड्ग, चर्म र नीलोत्पल धारण गरेकी, चारबाहु भएकी यस्ती श्री स्वस्थानी माताको हृदयमा ध्यान गर्दछु ।
पूजापछि आफूले जुन कामना चिताएको हो त्यो कामना पूर्णहोस् भनी श्री स्वस्थानी मातालाई अर्घ्य दिनु पर्दछ । त्यसपछि साँझमा श्रीस्वस्थानी माताको कथा बाचन गरी परीवारजन, आफन्त, छिमेकी लगायतलाई सुन्ने वा सुनाउने गर्नु पर्दछ ।
कथा सुन्ने श्रोता नभए पनि आफै कथा वाचन गरी सुन्नु पर्दछ । आफुले कथा वाचन गर्न नसके ब्राह्मण वा परिवारका सदस्य वा अन्य ब्यक्तिबाट वाचन गराउनु पर्दछ । वाचन गर्नेले कुनै अभक्ष पदार्थ खाएको हुनु हुदैन ।
कथा आरम्भ गर्नु भन्दा पहिले र कथा भनिसके पछि धूप, दिप, फूल, चन्दन, अक्षता र भेटी चढाई पुस्तकको पनि पूजा गर्नु पर्दछ । कथा पछी आरती गर्नु पर्दछ । आरती पछी कथा सुन्ने जति सबैलाई प्रसाद दिई आफूले पनि ग्रहण गर्नुपर्दछ ।
यसरी एक महिनासम्म नित्य पुजा कार्य गरी माघ शुक्ल पूर्णिमाको दिन व्रतको समापन गर्नुपर्दछ । सो दिन नित्य भनिने कथा समाप्त गरी विशेष पूजाको लागि तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवाको शिव लिंङ्ग बनाई त्यही थालीको मध्यमा स्थापना गर्नुपर्दछ ।
श्रीस्वस्थानी मातासंगै महादेवको पनि अराधना गर्नुपर्ने हुन्छ । समापन पूजामा १०८ सेलरोटी, १०८ टुक्रा सुपारी, १०८ बेली पुष्प, १०८ पान, १०८ जनै, १०८ अक्षता, भेटी, जौं, तिल इत्यादी सबै पदार्थ १०८ वटा चढाउनु पर्दछ ।
पूजा पछी १०८ पटक परिक्रमा गरी दण्डवत् ढोग गर्नु पर्दछ । ब्रत प्रतिष्ठा पछि ‘हे स्वस्थानी माता हजुरका कृपाले मेरो व्रत पूरा भयो’ भनि अघ्र्य दिई माथिका सबै १०८ प्रसादहरू मध्येबाट ८र८ वटा प्रसाद झिकि सगुन सहित आफ्ना श्रीमान, श्रीमान नभए छोरा, छोरा नभए मित छोरा र मितछोरा पनि नभए मेरो अमुक कार्य पुरा होस् भनि नदीमा बगाई दिनुपर्दछ ।
सयरोटी आफुले फलाहार गरी प्रतिष्ठाको रात्रीमा जाग्रम बस्नु पर्दछ । यतिगरी सकेपछी श्रीस्वस्थानी माताको प्रसादले व्रतकर्ताको समस्त दुःख नास भई मनोकामना पूर्ण हुने श्रीस्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ ।