कालिञ्चोकमा पर्यटकको भीड, पुष महिनामा मात्रै ३० हजारले भ्रमण गरे

कालिञ्चोकमा पर्यटकको भीड, पुष महिनामा मात्रै ३० हजारले भ्रमण गरे

उद्वव बिक


दोलखा, माघ २ । चिसो मौसम सँगै हिउँमा रमाउनका लागि बर्षेनी हजारौँ पर्यटक दोलखाको कालिञ्चोक पुग्छन् । यस बर्ष पुष महिनाको अवधिमा मात्रै तीस हजार भन्दा बढी पर्यटकहरु हिउँमा रमाउन कालिञ्चोक पुगेका छन् ।

यस बर्ष कालिञ्चोकमा दुई पटकसम्म हिमपात भएको थियो । हिमपातसँगै हिउँमा खेल्न रमाउने पर्यटकहरुको संख्या गत बर्षको तुलनामा ह्वात्तै बढेको छ । कालिञ्चोक भगवतीको दर्शन र त्यहाँको प्राकृतिक सुन्दरता हेरेर पर्यटकहरु प्रसन्न भएर फर्कने गर्छन् ।

कालिञ्चोक दर्शन लिमिटेडका कार्यकारी निर्देशक अशोक शिवाकोटीले पुष महिनामा मात्रै २३ हजार भन्दा बढि पर्यटक केबुलकार मार्फत कालिञ्चोक मन्दिर पुगेको जानकारी दिए ।

उनका अनुसार यो अबधिमा केवुलकार बाहेक दशौँ हजार पर्यटक पैदल मार्फत मन्दिरको दर्शन गर्न पुगेको अनुमान छ । हिउँ खेल्दै प्राकृतिक सुन्दरतासँग रमाउन र कालिञ्चोक भगवतीको दर्शन गर्न दैनिक पर्यटकको भिड लाग्ने गरेको छ । विशेषगरी छिमेकी देश भारत र काठमाण्डौँदेखि पर्यटकहरु कालिञ्चोक भित्रिएका छन् ।

हिमपातको सिजनमा नियमित भन्दा दोब्बर÷तेब्बर पर्यटक कालिञ्चोक भित्रिने गरेको व्यवसायीहरु बताउँछन् । स्थानीय होटल व्यवसायी कृष्ण पाख्रिनले तुलनात्मक रुपमा हिँउको सिजनमा पर्यटकको आवागमन तिव्र हुने गरेको बताए ।

काठमाण्डौँबाट नजिकैको दुरी र प्राकृतिक मनोरमताले पर्यटकको पहिलो रोजाई कालिञ्चोक बन्ने गरेको छ । हिँउसँगै कालिञ्चोक भगवतीको दर्शन, रोल्वालिङ र लाङटाङ हिमश्रृङखलाहरुको दृष्यावलोकनको अभुतपुर्व मज्जा लिन पाईने भएपछि कालिञ्चोक भ्रमणमा निस्कने पर्यटकहरुको संख्या अधिक रहेको व्यवसायी चन्द्र कुमार लामा बताउँछन् ।

Trending News