एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनेईलाई बोल्ने शब्दमा बिचार पुर्याउन चेतावनी दिएका छन् । शुक्रबार ट्वीटमार्फत राष्ट्रपति ट्रम्पले खामेनेईलाई इरानमा सर्वोच्च नेता भनिए पनि उनि सर्वोच्च नरहेको दावि गरेका छन् । उनकै कारण इरानको अर्थतन्त्र डगमगाएको र त्यहाँको जनताले सास्ती झेल्नुपरेको राष्ट्रपति ट्रम्पको आरोप रहेको छ ।
शुक्रबार तेहरानमा आयोजित प्रवचनका क्रममा खामेनेईले अमेरिकी राष्ट्रपति ट्रम्पको आलोचना गरका थिए । उनले हजारौ मानिसहरु उपस्थित प्रवचन समारोहमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई जोकरको संज्ञा दिएका थिए । उनले इराकमा रहेको अमेरिकी सैन्य शिविरमाथि क्षेप्यास्त्र प्रहार गरेकोमा इरानी सेनाको प्रशंसा समेत गरेका थिए ।
तेहरानस्थित मोसल्ला मस्जिदबाट देशको नाममा सम्वोधन गरेका खामेनेईले इरानको विशेष सैन्य कुड्स फोर्सलाई अमेरिकाले आतंकवादी समुह भनेकोप्रति समेत रोश प्रकट गरेका थिए । उनले कुड्स फोर्स मानवीय मुल्य मान्यता भएको मानवतावादी संगठन रहेको समेत स्पष्ठ पारेका थिए । अमेरिकी सैनिक शिविरमा इरानी हमलाले राष्ट्रपति ट्रम्पको गालामा थप्पड परेको समेत बताएका थिए ।
दुई हप्ता अगाडी इरानी विशेष सैन्य प्रमुख जनरल कासिम सुलेमानीको हत्या भएपछि अमेरिका र इरानको सम्वन्धमा थप तिक्तता बढेको हो । इरानले निहुँ खोजेको खण्डमा थप प्रतिवन्ध लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पले चेतावनी समेत दिइसकेका छन् ।