चीनमा रहस्यमय भाइरसको संक्रमित बढ्दै, नेपालमा पनि खतरा

दियो पोस्ट

काठमाडाैँ । चीनमा देखिएको रहस्यमय भाइरसबाट संक्रमित व्यक्तिको संख्या बढ्दै गएको छ ।

सरकारी अधिकारीहरुले सार्वजनिक गरेको तथ्यांकभन्दा धेरै संक्रमित भेटिएको अनुसन्धानकर्ताले बताएका बीबीसीले जनाएको छ । ४१ जनामा नयाँ भाइरस पुष्टि भएपछि बेलायती वैज्ञानिकले भने झण्डै १ हजार ७ सय नागरिक संक्रमित भएको अनुमान गरेका छन् ।

गएको डिसेम्बरमा चीनको वुहान शहरमा देखिएको भाइरसबाट अहिलेसम्म दुई जनाको ज्यान गैसकेको छ । यो भाइरस मानिसबाट मानिसमा नसर्ने चिनियाँ अधिकारीले दाबी गरेका छन् । तर वुहानको बन्यजन्तु पाइने बजारमा पुगेको संक्रमित जनावरको सिफुडले यो भाइरस फैलाएको उनीहरुको भनाई छ ।

यो भाइरसको नमुना परीक्षणको लागि प्रयोगशालामा पठाइएको छ । चिनियाँ अधिकारी र विश्व स्वास्थ्य संगठन डब्लुएचओले यो संक्रमण कोरोनाभाइरस भएको निष्कर्ष निकालेका छन् ।

कोरोनाभाइरस रुघाखोकी हुँदै गम्भीर रोग निम्त्याउने भाइरसको ठूलो समूहको एउटा सदस्य रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यो यसअघि मानवमा पहिचान गरिएको थिएन । तर यो जनावर र मानिसबीच सर्ने भाइरस हो ।

चिनमा देखिएको भाइरसबाट नेपालमा पनि खतरा रहेको अधिकारीहरुले बताएका छन् । चिनले संक्रमण बढ्न नदिनका लागि विमानस्थलमा निकै कडाई गरेको छ । यस भाइरसलाई फैलन नदिनका लाग उच्च सतर्कता अपनाएको छ ।

सम्बन्धित खबर