आजको प्रतिनिधिसभा बैठकमा सभामुखका लागि निर्वाचन हुदैँ

दियो पोस्ट  

काठमाडौं । गत असोजदेखि सभामुखविहीन रहेको प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । नेकपाले पार्टी नेटा अग्नी सापकोटालाई सभामुख उम्मेदवार बनाए पछि निर्वाचनका लागि प्रतिनिधिसभाको बैठक आज बस्न लागेको हो ।

संघीय संसद् सचिवालयले दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक तय भएको जनाएको छ ।सचिवालयका अनुसार, सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने सम्भावित कार्यसूची आजका लागि तय भएको छ ।

प्रतिनिधिसभामा सत्तारूढ नेकपाको बहुमत रहेकाले नेकपाकै उम्मेदवार सापकोटा सभामुखमा विजयी हुने पक्का छ । प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक दल र लिंगबाट हुनुपर्ने प्रावधान भएकाले तत्कालीन एमालेबाट उपसभामुख बनेकी शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको छ ।

यसअघि नेकपाले राजीनामा दिन गरेको आग्रह शिवमायाले इन्कार गरेकी थिइन् । आफ्नो राजीनामाले प्रतिनिधिसभामा थप रिक्तता आउने तर्क गर्दै उनले राजीनामा नदिने बताएकी थिइन् । नेकपाले सभामुख उम्मेदवार चयन गरेसँगै शिवमायाले राजीनामा दिनुपर्ने भएको छ । यद्यपि, शिवमायाले आफ्नो राजीनामाबारे केही बताएकी छैनन् ।

शिवमायाले सोमबार नै उपसभामुखबाट राजीनामाको घोषणा गरेमा संसद् सचिवालयले एकसाथ दुवै पदको निर्वाचन प्रक्रिया थाल्नेछ ।