धादिङमा गुण्डागर्दीः खुकुरी प्रहार गरि एकको हत्या, एक गम्भिर घाइते

दियो पोस्ट  

धादिङ माघ ८ । धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा दुई जनामाथि खुकुरी प्रहार भएको छ । गएराति घरमा बसिरहेको अवस्थामा सान्ता तामाङ र रविन तामाङमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहार बाट सान्ता तामाङको मृत्यु भएको छ ।

खुकुरी प्रहारबाट रविन तामाङ गम्भिर घाइते भएका छन् । उनलाई बुधबार बिहान काठमाडौस्थि ग्रीन सिटी अस्पताल ल्याइएको छ । तामाङको टाउको र घाँटीमा गम्भिर चोट लागेको उनको आफन्तले बताएका छन् । गएराति आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक समुहमा आएर खुकुरी र ढुंगामुढा प्रहार गरेको पीडितका आफन्तहरुले बताएका छन् ।

जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख एसपी रविन्द्र रेग्मीले भने दुई समुहको आपसी विवादको कारण झडप भएको बताएका छन् । घटनामा संलग्न नेत्रावती डब्जोङ १ मार्पाकका राम तामाङ र रोशन तामाङलाई प्रहरीले पक्राउ गरिएको उनले बताए । आफु घटनास्थल जाँदै गरेको र घटनाको अनुसन्धान भइरहेको प्रहरी प्रमुख रेग्मीले दियोपोस्टलाई जानकारी दिएका छन् ।

धादिङ क्षेत्रमा पेसेवर गुण्डागर्दीमा संलग्न रहेका अशोक तामाङको निर्देशनमा उनिहरुमाथि आक्रमण भएको पीडितका आफन्तहरुले बताएका छन् । घटनामा संलग्न राम तामाङ विभिन्न आपराधिक घटनामा संलग्न रहँदै पटकपटक पक्राउ समेत परिसकेका व्यक्ति हुन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

याे पनि

धादिङ खुकुरी प्रहार प्रकरणः आक्रमणको निर्देशन दिने गुण्डा नाइके अशोक तामाङ पक्राउ