
काठमाडौँ, माघ ८ । चन्द्रागिरि नगरपालिका वडा नं ६ मा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । ६ नम्बर वडा अन्तर्गतको ज्येष्ठ नागरिक समाजले आयोजना गरिएको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा वडाभित्रका ३ सय १६ जना ज्येष्ठ नागरिकलाई फाइबरको ब्ल्यांकेट वितरण गरिएको थियो ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ को २०७६÷०७७ को ज्येष्ठ नागरिक शीर्षक अन्तरगत विनियोजित ४ लाख रुपैयाँबाट ज्येष्ठ नागरिकलाई न्यानो ब्ल्यांकेट वितरण गरिएको हो ।
सम्मान कार्यक्रममा बोल्दै प्रदेश ३ का सांसद रमा आलेमगरले ज्येष्ठ नागरिकहरु समाजको पथप्रदर्शक भएको कारण उहाँहरुको सम्मान गर्नुपर्ने बताएकी छिन् । ज्येष्ठ नागरिकहरुलाई राज्यले सम्मानको दृष्टीले हेरेको र उनिहरुको लागि सरकारले विभिन्न योजनाहरु समेत ल्याएको बताएकी छिन् । सय रुपैयाँबाट शुरु भएको ज्येष्ठ नागरिक भत्ता अहिले प्रतिव्यक्ति ३ हजार पुग्नुमा पनि सरकार ज्येष्ठ नागरिक प्रति जिम्मेवार रहेको पुष्टि हुने बताएकी छिन् ।
चन्द्रागिरि–६ का वडाध्यक्ष संजय सिग्देलले ज्येष्ठ नागरिकहरु समाज र राष्ट्रको गहना भएको र उनिहरुको मार्गदर्शनअनुसार नै आफु अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले अबका दिनहरुलाई ज्येष्ठ नागरिकहरुलाई बृद्धाश्रम नभई आफ्नै घरमा बस्ने वातावरण मिलाउने समेत प्रतिवद्धता ब्यक्त गरेका छन् ।

ज्येष्ठ नागरिक समाजका संयोजक लोकराज पन्तले ज्येष्ठ नागरिक समाज गठन गर्न वडाबाट भरपुर सहयोग भएकोमा आफुहरु खुशी व्यक्त गरेका छन् । उनले यो अभियानलाई समाजले निरन्तर अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे । साथै ज्येष्ठ नागरिक भवन बनाउन जग्गा उपलब्ध गराई सहयोग गरिदिन पनि वडा अध्यक्षसँग आग्रह गरे ।
कार्यक्रममा प्रदेश ३ का सांसद बेलीमाया घले, साहित्यकार तथा पूर्वशिक्षामन्त्री मोदनाथ प्रश्रित, बुद्धिजिवीलगायतको उपस्थिति रहेको थियो ।