
काठमाडौं । पर्यटन वर्ष २०२० लाई मध्यनजर गर्दै चन्द्रागिरि नगरपालिकामा चन्द्रागिरि अन्तरविद्यालय नृत्य प्रतियोगिता हुने भएको छ ।
चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोगमा माघ १२ गतेदेखि १४ गतेसम्म चन्द्रागिरि अन्तर विद्यालय नृत्य प्रतियोगिता संचालन हुन लागेको हो । प्रतियोगितामा सामुदायिक विद्यालयबाट २० र निजी विद्यालयबाट ३० गरी ५० वटा विद्यालयका विद्यार्थीहरु प्रतियोगितामा सहभागी हुने संयोजक भूवन गिरीले बताएका छन् । पहिलो दिन १२ गते निजी विद्यालयका विद्यार्थीहरु र दोस्रो दिन १३ गते सामुदायिक विद्यालयका विद्यार्थीहरुको अडिसन हुनेछ । अडिसनबाट छनौट भएका विद्यार्थीको फाइनल १४ गते हुनेछ ।
संयोजक गिरीले चन्द्रागिरि नगरपालिका भित्र रहेका सामुदायिक तथा निजी विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुको प्रतिभालाई कला, संस्कृति झल्कने लोक संगीतको माध्यमबाट प्रस्फुटन गर्न खोजिएको बताए ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगदसहित शिल्ड, मेडल, प्रमाण–पत्र प्रदान गरिने छ । प्रतियोगिताको लागि नगरपालिकाले १ लाख र विभिन्न संघसंस्थाबाट ६ लाख ४० हजार गरी ७ लाख ४० हजार रकमबाट प्रतियोगिता आयोजना हुँदैछ । कार्यक्रममा नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जन, शिक्षा शाखा प्रमुख कर्णबहादुर भुवाजी, विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।