मलेशियाको मर्डेका रंगशालामा हिमालयन गोल्ड कप: उद्घाटन खेलमा आयोजक टोली विजयी

दियो पोस्ट  

क्वालालम्पुर, माघ ११ । हिमालयन गोल्ड कपको उद्घाटन खेलमा आयोजक टोली हिमालयन फुटबल क्लब विजयी भएको छ । मलेशियाको क्वालालम्पुरस्थित मर्डेका स्टेडियममा शनिबार भएको खेलमा आयोजक टोली हिमालयन फुटबल क्लवले पिजे फुटबल क्लवलाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद शुरुवात गरेको हो ।

शनिबारबाट शुरु भएको खेलमा १३ वटा नेपाली टिमले सहभागी जनाएका छन् । हिमालयन गोल्ड कपबाट १७ जना खेलाडीलाई छनोट गरि माइग्रेन्ट कप–२०२० का लागि पठाइने आयोजक हिमालयन फुटबल क्लवका अध्यक्ष सन्तोष कार्कीले बताएका छन् ।

आगामी मे महिनाबाट शुरु हुन लागेको माइग्रेन्ट कपका लागि खेलाडी छनोट गर्न हिमालयन गोल्ड कप आयोजना गरिएको हो । माइग्रेन्ट कप मे महिनाको मे १ बाट शुरु हुने छ । उक्त खेलमा १२ देशका आप्रवासी टिमहरु एपस्थित हुने छन् भने फिफाबाट लाइसेन्स प्राप्त रेफ्रीहरु उपस्थित हुनेछन् ।


हिमालयन गोल्ड कपको विजेतालाई दश हजार मलेशियन रिंगिट र उपविजेतालाई ५ हजार रिंगिट पुरस्कारस्वरुप दिइने छ । तेस्रो स्थान हाँसिल गर्ने टोलीलाई २ हजार रिंगिट दिइने आयोजकले जनाएको छ ।