अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्ट र उनकी छोरी जियानाको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । क्यालिफोर्नियाको कालाबासासमा भएको हेलिकोप्टरमा दुर्घटनामा ब्रायन्टसहित ९ जनाको मृत्यु भएको हो ।
४१ वर्षीय ब्रायन्ट निजी हेलिकोप्टरमा यात्रा गरिरहेको बेला उक्त दुर्घटना भएको थियो । ब्रायन्ट सवार हेलिकप्टर आगलागी भएपछि दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
लस एन्जलस प्रहरीका अनुसार हेलिकप्टरमा रहेका सबै ९ यात्रुको मृत्यु भएको छ । ब्रायन्टसँगै उनकी १३ वर्षीया छोरी जियनाको मृत्यु भएको खुले पनि अन्यको नाम सार्वजनिक गरिएको छैन ।
पाँच पटकका एनबीए च्याम्पियन ब्रायन्टलाई बास्केटबल खेलमा महान् खेलाडीको सूचीमा राखिन्छ । एनबीएले एक वक्तव्य जारी गर्दै कोब ब्रायन्ट र उनकी १३ वर्षीया छोरी जियानाको निधनले आफूहरु स्तब्ध भएको बताएको छ ।
प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान १० बजे लास भिरगेनेसभन्दा नजिकै एक मैदानमा हेलिकोप्टर खसेको थियो । एक प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाअघि हेलिकोप्टरको इन्जिनमा अनौठो आवाज आएको थियो ।
व्यावसायिक बास्केटबल करिअरमा २० वर्ष एलए लेकर्समै बिताएका ब्रायन्टले सन् २०१६ मा सन्यास लिएका थिए । उनी ३४ वर्षको उमेरमा ३० हजार करिअर पोइन्ट पुग्ने सबैभन्दा कान्छा खेलाडी थिए ।
उनले सन् २००६ मा टोरोन्टो र्याप्टर्सविरुद्ध एक्लै ८१ अंक स्कोर गरेका थिए । जुन एकै खेलमा दोस्रो सर्वाधिक स्कोर हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनालाई टेरिबल न्युज भनेका छन् ।