काठमाडौँ, माघ १३ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससम्बद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को दुई पक्षबिच झडप भएको छ । नेपाली काँग्रेस पार्टी कार्यलय सानेपामा संस्थापन पक्षले विरोध गर्दै आमरण अनसन बसिरहँदा झडप भएको हो ।
नेबिसंघका महासचिव कुन्दनराज काफ्लेमाथि हातपात समेत भएको छ । पार्टीको संस्थापन पक्षले विधान विपरित नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै विरोध प्रदर्शन गरिरहेका महासचिव कुन्दनराज काफ्लेमाथि हातपात गरेको हो ।
काफ्ले समूहबाट पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठी अनसनमा बसेका छन्। नेविसंघको नेतृत्वका लागि ३२ वर्षको उमेर हद तोकिनुपर्ने माग राखेका छन्। यही माग राखेर काफ्लेसहितको समूहले डेढ महिनादेखि कांग्रेस कार्यलयमा धर्ना दिँदै आएका छन्। काफ्लेले अनसनमा बस्नेहरूमाथि हातपात भएपछि तनाव भएको बताए।
कांग्रेसको आन्तरिक विवाद मिलेपछि सोमबार बस्न लागेको केन्द्रीय समितिको बैठकलाई दबाब दिन उनी अनसनमा बसेका हुन्। संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच भएको सहमतिमा नेविसंघको पदाधिकारी र केन्द्रीय समितिमा साठी÷चालिसको अनुपातमा भागबन्डा गर्ने सहमति भए पनि उमेरको हदबन्दीबारे केही भनिएको छैन।
कांग्रेस केन्द्रीय समितिको बैठक आजै बस्ने र नेवि संघको नेतृत्व चयन गर्ने कार्यक्रम रहेकाले विद्यार्थीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।