काठमाडौँ, माघ १४ । आर्सनल एफए कपको प्रिक्वाटरफाइनल प्रवेश गरेको छ । सोमबार राति एएफसी बर्नमाउथलाई २–१ ले पराजित गर्दै पाँचौ चरणमा स्थान पक्का गरेको हो ।
आर्सनलको जितमा बुकायो साका र इडी एनकेतिहाले एक एक गोल गरेका थिए ।
पाँचौं मिनेटमा साकाले मार्टिनेलीको पासमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा एनकेतिहाले गोल गरेपछि आर्सनलले पहिलो हाफअघि दुई गोलको अग्रता लियो ।
युवा खेलाडीले भरिएको आर्सनलले सो अग्रता खेलको निर्धारित सयमसम्म जोगाएको थियो । इन्ज्युरी सयको चौथो मिनेटमा बर्नमाउथका सब्सिच्युट खेलाडी साम सुरिजले गोल गर्दै आर्सनलको अग्रता २–१ मा छोट्याए ।
बाँकी समयमा थप गोल हुन नसक्दा आर्सनलले अन्तिम १६ को यात्रा पक्का गरेको हो । आर्सलनलले प्रिक्वार्टर फाइनलमा तेस्रो डिभिजनको पोर्ट्समाउथसँग प्रतिष्पर्धा गर्नेछ ।