लागुऔषधमा संलग्न प्रहरी जवान पक्राउ

दियो पोस्ट  

मोरङ । भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा २३ बर्षीय प्रहरी जवान सरोज गिरीलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले पक्राउ गरेको छ । धनकुटाको पाख्रीवास घर भएका गिरी लागुऔषधसहित विराटनगरबाट पक्राउ परेका हुन ।

गिरीले ज्याकेटको गोजीमा राखेर ल्याउँदै गरेको अवस्थामा १ सय ४४ ट्याब्लेट स्पास्मोप्रोक्सिभन नामक लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डीएसपी लोकदर्शन थापाले जानकारी दिए ।

पैदल हिडेर आउँदै गरेका गिरीको व्यवहार शंकास्पद लागेपछि विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटमा चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध बरामद भएको हो । पक्राउ परेका गिरीविरुद्ध लागुऔषध ऐन अन्तर्गत मुद्दा दायर गरी जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कारागार सुरक्षा गार्ड झापा दरबन्दी भएका जवान गिरी सुनसरीको दुहवी स्थित दंगा नियन्त्रण प्रहरी गणमा कार्यरत छन् ।