प्रदर्शन उग्र बन्दै गएपछि बिरेन्द्रनगरमा बुधबार ६ बजेसम्म कर्फ्यू आदेश

दियो पोस्ट  

सुर्खेत, माघ १४ । टिप्परको ठक्करबाट एक युवकको मृत्यु भएपछि बिरेन्द्रनगरमा तनाव सिर्जना भएको छ । मंगलबार बिरेन्द्रनगरको मुलपानी चोकनजिक कालिकोटको महावै गाउँपालिका–३ सिमखेतका २० बर्षीय युवक केशर सिंहको टिप्परको ठक्करबाट मृत्यु भएपछि स्थानीय आन्दोलित भएका हुन् । दिनभरी प्रदर्शन भएको र प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यलय सुर्खेतले भोलि बुधबार बिहान ६ बजेसम्मको लागि कर्फ्यू आदेश जारि गरेको हो ।

मंगलबार साँझ एक सुचना जारि गर्दै जिल्ला प्रशासन कार्यलय सुर्खेतले वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५ सय मिटर क्षेत्रसम्म कर्फ्यू लगाएको छ। मंगलबार साँझ ६ बजेदेखि जारि भएको कर्फ्यू आदेश बुधबार बिहान ६ बजेसम्म जारि रहने जिल्ला प्रशासन कार्यलय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले बताएका छन् ।

मंगलबार दिउँसो भे १ ख २२४२ नम्बरको टिप्परले भे १ प २१७८ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सिंहको घटनास्थलमै मृत्यु भएको थियो । प्रत्यक्षदर्शीका अनुसार टिप्परले मोटरसाइकललाई करिब २० मिटर सम्म घिसारेको थियो ।

स्थानीयले घटनाको विरोधमा सडकमा टायर बालेर प्रदर्शन गर्दै बजार बन्द गराएको छन्। चालकको लापरबाहीले घटना भएको भन्दै स्थानीयले कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन्।

स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको थियो । दुर्घटनास्थलबाट मृतकको लास उठाएपछि झनै स्थिति नियन्त्रणबाहिर पुगेको थियो । यसक्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप समेत हुन पुगेको थियो । प्रहरीले यसबिचमा गोली समेत चलाएको छ । गोली लागेर एक दर्जनभन्दा बढी स्थानीय घाइते भएका छन्। अवस्था तनावपूर्ण बनेपछि नेपालगंजबाट समेत सुरक्षाकर्मी ल्याइएको छ।