काठमाडौँ, माघ १५ । जिल्ला प्रहरी कार्यलय मोरङले फेसबुक लगायत विभिन्न सामाजिक संजालमा नक्कली अनलाईन सपिङ पेज बनाई ठगी गर्ने ८ जनालाई पक्राउ गरेको छ । अनलाईन व्यापारको नाममा ठगी गर्ने ८ जनालाई पुष महिनाको विभिन्न समयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।
उनिहरुले फेसबुकमा बेस्ट बाई एप्पल स्टोर, बेस्ट इलेक्ट्रोनिक्स स्टोरर्स हप होम, के मार्ट इलेक्ट्रोनिक्स जस्ता पेजहरुमार्फत विद्युतीय सामाग्रीहरु तथा सामसुङ र आइफोनको बिक्री वितरण गर्ने बताउँदै ग्राहक ठग्ने गरेको पाइएको हो ।
महंगो सामाग्रीहरु सस्तो मुल्यमा वितरण गर्ने भन्दै ग्राहकहरुलाई प्रलोभन पार्ने र ह्वाट्सएप म्यासेजमार्फत ग्राहकसँग डिल गर्ने गरिएको प्रहरी अनुसन्धानमा खुलेको छ । ग्राहकहरु सामान खरिद गर्न तयार भएपछि नक्कली कागजातबाट खोलिएको बैँक खातामा पैसा पठाउन लगाउने र पैसा पाएपछि वेपत्ता हुने गरेको पाइएपछि उनिहरुलाई पक्राउ गरिएको हो ।
उक्त समुहले एनआइसी एसिया लगायत विभिन्न बैँकहरुमा प्रतिमा पराजुल,ि गरिमा खड्का, छत्र कुमारी धमला लगायतका मानिसहरुको नाममा खाता खोलिएको भेटिएको छ । ग्राहकसँग डिल भएपछि उनिहरुले सोही खातामा पैसा पठाउन लगाउने र पैसा प्राप्त भएपछि सम्पर्कविहीन हुने गरेको पीडितहरुले उजुरी दिएका थिए ।
बैँक खाता खोल्न आर्थिक प्रलोभन
प्रहरीले विशाल अर्याल भनिने निरंजन प्रसाद आचार्य उक्त समुह र आपराधिक गतिविधिको प्रमुख भएको अनुसन्धानबाट पत्ता लगाएको छ । ठगीको पैसा हात पार्नका लागि उनले नै नक्कली नागरिकताको फोटोकपी उपलब्ध गराउने गरेको भेटिएको छ । त्यति मात्र होईन नक्कली कागजातबाट बैँक खाता खोल्नका लागि उनले बैँककै कर्मचारीहरु बर्षा कार्की र लक्ष्मी कार्कीलाई आर्थिक प्रलोभनमा पारेको भेटिएको छ । उनले एनआइसी एसियामा खाता खोल्दा २ हजार र अन्य बैँकमा खाता खोल्दा १ हजार दिने गरेको पाइएको छ । मुख्य योजनाकार निरंजनले सोही खाताबाट ठगी धन्दा चलाउने गर्थे ।
पुष महिनामै पक्राउ परेका थिए ८ जना ठग
मोरङ प्रहरीले संगठित ठगीमा संलग्न आठै जनालाई पुष महिनामा पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मोरङ सुन्दरहरैँचा नगरपालिका–३ का ३६ बर्षीय विशाल अर्याल भन्ने निरञ्जन प्रसाद आचार्य, खोटाङ जन्तेढुंगा गाउपालिका–४ का २२ बर्षीय शिवजी खड्का, सोही ठाउँका २० बर्षीया देवी चौलागाईँ रहेका छन् ।
त्यसैगरि सुनसरीको धरान नगरपालिका–२० बिष्णुपादुकाका २० बर्षीया भावना राई, सोही नगरपालिका–५ का १९ बर्षीया सरिता परियार, २० बर्षीया बर्षा कार्की, २३ बर्षीया सानु गौतम, २१ बर्षीया लक्ष्मी कार्की रहेका छन् ।
केके बरामद भयो ?
प्रहरीले संगठित ठगी कार्यमा संलग्न उक्त समहुबाट नगद सहित विभिन्न नक्कली कागजपत्र बरामद गरेको छ । उनिहरुको साथबाट नगद मात्र ६७ लाख ९९ हजार ७ सय ५० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै ३२ वटा नेपाली र ५ वटा भारतीय सहित ३७ वटा एटिएम कार्डहरु बरामद भएको छ ।
ठगी धन्दामा उपयोग गरिने बैँक खाताका ५८ वटा फरकफरक चेकबुक भेटिएको छ जसमध्य १५ वटा खाली चेकबुक रहेको प्रहरीेले जनाएको छ । ठगीधन्दाको मुख्य योजनाकार निरंजन प्रसाद आचार्य नामको सक्कली नागरिकता, सक्कली भारतीय आधारकार्ड, आयकर विभागबाट प्राप्त भएको AXNPA2087R लेखिएको कार्ड र भारतीय सवारी चालक अनुमतीपत्र समेत बरामद भएको छ ।
प्रहरीले उनिहरुको साथबाट बिराटनगर भन्सार कार्यलयबाट सवारी साधनको ४० थान अस्थायी पैठारी अनुमतीपत्र समेत भेट्टाएको छ । त्यस्तै भन्सार प्रज्ञापन पत्र काटिएको ६० थान रसिद र १ थान खाली रसिद प्याड नै बरामद गरेको छ । त्यस्तै ७ वटा नेपाल टेलिकम, ११ वटा एनसेल र ७ वटा भारतीय सहित २५ थान सिमकार्ड बरामद गरेको छ भने विभिन्न ब्यक्तिको नाम र फोटो परिवर्तित गरिएको नागरिकताको ३७ थान फोटोकपी बरामद गरेको छ ।
प्रहरीले उनिहरुलाई थप अनुसन्धान गर्दै संगठित अपराधमा मुद्धा चलाउने तयारी गरिरहेको जानकारी दिएको छ ।