एजेन्सी । चीनमा कोरोनाभाइरसको आतंक थप फैलिएको छ । त्यहाँको सरकारले भाइरसको नियन्त्रण गर्ने प्रयास गरेतापनी संक्रमितहरुको संख्या दिनानुदिन बढीरहेका छन् । बुधबारसम्म चीनमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १ सय ७० पुगेको चीनियाँ संचारमाध्यमहरुले जनाएका छन् ।
चिनको हुबेई प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोनाभाइरस अहिले सम्म चिनका ३१ भन्दा बढी प्रान्तहरुमा यसको प्रकोप फैलिएको छ । चिनमा मात्र करिब ८ हजार जना कोरोनाभाइरसबाट बिरामी परेका छन् । संक्रमितहरुलाई उच्च निरिक्षणमा राखि उपचार गरिएको छ ।
विश्व स्वास्थ्य संगठनले सबै देशलाई यसबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ । चीन बाहेक दर्जन भन्दा धेरै देशमा कोरोना फैलिसकेको छ । फिनल्याण्ड र दुबइमा समेत बुधबार कोरोना भेटिएको छ । कोरोनाकै कारण विश्व स्वास्थ्य संगठनको बिहीबार आपतकालिन बैठक बस्दैछ ।
कोरोनाभाइरस नेपालसहित १९ देशमा समेत भेटिएको छ । यसको रोकथाम गर्नका लागि देशहरुले विमानस्थलमा कडाई गरेका छन् । चिनबाट फर्केका व्यक्तिहरुलाई अनिवार्य रुपमा स्वास्थ्य परिक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ । हालसम्म पनि कोरोनाभाइरसको औषधी नभेट्टिएको कारण पनि यसको नियन्त्रणमा समस्या भएको हो ।