
काठमाडौं, १७ पुस । काठमाडौं महानगरपालिका वडा नम्बर २ को भवन निर्माणमा सिटि एक्सप्रेसका मालिक डोलराज शर्माले अवरोध गरेको पाइएको छ ।
शर्माले पहुँच र शक्तिको भरमा परराष्ट्र मन्त्रालयअन्तर्गतको आफ्नो सम्पर्कमा रहेका कर्मचारीहरुलाई दुरुपयोग गरेर वडा कार्यालयको भवन निर्माणमा अवरोध पु¥याएका हुन् ।
काठमाडों महानगरपालिका वडानम्बर २ का वडाध्यक्ष राजेन्द्र कुमार श्रेष्ठका अनुसार करिब चार करोड १७ लाख रुपैयाँ लगानीमा भवन बन्दैछ । लाजिम्पाट स्थित नेपाली चुलोबाट भित्र रहेको परराष्ट्र मन्त्रालयको जग्गामा भवन बन्न लागेको हो ।
वडाध्यक्ष श्रेष्ठले केही व्यक्तिले पार्किङ गर्न नपाइने हो की भन्ने आशयले विरोध गरेको बताए ।
स्रोतका अनुसार सिटि एक्सप्रेसका मालिक शर्माले आफ्नो गाडी पार्किङ गर्न पाउनुपर्ने भन्दै भवन निर्माणमा अवरोध गरेका हुन् । अवरोध भएपछि वडाकार्यालयले प्रधानमन्त्री कार्याललय सम्म गुहार्नुपरेको छ । वडाध्यक्ष श्रेष्ठले भवन निर्माणका लागि प्रधानमन्त्री कार्यालयको तोकको आधारमा परराष्ट्रमा पत्र पठाउन लागेको बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा कारबाही गरेका डोलराज कुनै समय राजस्व समूहका कर्मचारी थिए । त्यतिबेला अख्तियारले उनको घरमा छापा मार्दा गमलामा गाडेको अवस्थामा थुप्रै सुन बरामद गरेको थियो । त्यस घटनापछि उनी गमलामा सुन रोप्ने कर्मचारीको रुपमा परिचित छन् ।
अख्तियारका प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले राजस्वका २२ कर्मचारीहरुमाथि छानबिन गर्दा कारबाहीमा परेकामध्येका उनी चर्चित पात्र हुन् । त्यसपछि सरकारी जागिरबाट हात धुनुपरेपछि उनले सिटी एक्सप्रेस नामको रेमिट्यान्स कम्पनीलगायतका बैंक तथा वित्तीय संस्थामा घुसको रकम लुकाई र त्यो कालोधनलाई सेतो बनाएका थिए । त्यतिबेला आफूसँगै रहेका घुसिया कर्मचारीको सहारामा उनले यस्तो अवरोध गरेको स्रोतले जानकारी दियो ।
काठमाडौं महानगरपालिका वडा नम्बर २ ले बनाउन लागेको भवन क्षेत्रको जग्गालाई आफूअनुकुल प्रयोग गर्नका लागि उनले अवरोध गरेका हुन् ।
मेयर विद्या सुन्दर शाक्यले भवनको शिलान्यास समेत गरेपनि शर्माकै कारण भवन निर्माणमा अवरोध भएको एक स्थानियले दियोपोस्टलाई बताए ।