परराष्ट्रमन्त्रीमाथि भारतको मजाक : ब्यानरमा नेपाली नक्सा, लिपुलेक र लिम्पियाधुरा गायब !

दियो पोस्ट  

काठमाडौं, २ माघ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली विहिबारदेखि भारत भ्रमणमा छन् । दुई देशबीच सम्बन्ध सुधारका लागि भन्दै उनी तीन दिने भारत भ्रमणमा हिजो मात्रै नयाँ दिल्ली पुगेका थिए ।


नेपाल–भारतको सीमा विवादको विषयमा परराष्ट्रमन्त्री ज्ञवालीले कस्तो भूमिका खेल्छन् भन्ने आम जिज्ञासा छ ।

नेपालले आफ्नो नक्सामा समेटिएको कालापानी, लिपुलेक र लिम्पियाधुराको विषय निकै टड्कारो बन्दै गएको छ । तर, शुक्रबार आयोजित एक कार्यक्रमले भने परराष्ट्रमन्त्री ज्ञवालीलाई अपमानपूर्वक मजाक गरेको पाइएको छ ।


शुक्रबार इण्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्सले आयोजना गरेको कार्यक्रम सहभागी हुन पुगेका मन्त्री ज्ञवालीको पछाडी नेपालको ठूलो नक्सासहितको ब्यानर थियो । उनले मन्तव्य दिइरहँदा पछाडि राखिएको ब्यानरमा देखिएको नेपालको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा भने गायब पारिएको थियो ।