प्रभु बैंकमा ३० करोड घोटाला : स्युचाटारमा हुँदै नभएको होटल र मुद्दा परेको जग्गालाई शंकाष्पद ऋण !

दियो पोस्ट  

काठमाडौं, १२ माघ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता पाएको प्रभु बैंकले मुद्दा चलिरहेको जग्गा र हुँदै नभएको होटलको नाममा ३० करोड रुपैयाँ ऋण प्रवाह गरेको पाइएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ अशोक शेरचनको मिलेमतोमा ठगि अभियोगमा जिल्ला अदालतमा मुद्दा चलिरहेको अभियुक्तलाई बैंकले ऋण दिएको खुलाशा भएको हो ।


प्रभु बैंकले राजधानीको स्युचाटारमा रहेको जिसाको हाउजिङ डेभपलपमेन्ट एण्ड कन्स्ट्रक्सन प्रा.लीको नाममा रहेको विवादास्पद जग्गामा करोडौं ऋण खन्याएको हो ।


जिसाको हाउजिङ एण्ड कन्स्ट्रक्सन प्रा.लीको नाममा राजधानीको स्युचाटारमा ५४ रोपनी ११ आना जग्गा थियो । जग्गाका मालिक थिए जितेन्द्र बहादुर श्रेष्ठ । उनै श्रेष्ठले आफ्नो नाममा रहेको जग्गा संयुक्त पार्टनरसिपको आधारमा बेचविखन गर्ने भन्दै २०७३ जेठ २२ गते बाराका जग्गा व्यापारी बलराम प्रसाद उप्रेतिसँग करारनामा गरे । तर, जालसाजी र ठगीमा खप्पिस रहेका बलराम प्रसाद उप्रेतिले भालीपल्टै डिजेन्द्र भनिने राजेन्द्र शाक्यलाई जिसाको हाउजिङको आमन्त्रित सदस्यको रुपमा भित्र्याए ।

रुप ज्योति, बलाराम उप्रेती र राजेन्द्र शाक्य

शाक्य तिनै व्यक्ति हुन् जो तत्कालित किस्ट बैंकको अध्यक्ष हुँदा अर्बौं घोटालामा मुछिएका थिए । यद्धपी सिआइबीले भने उनलाई उन्मुक्ति दिएर सिइओलाई मात्रै मुद्दा चलाएको थियो ।

उनै शाक्य आमन्त्रित सदस्यको रुपमा भित्रिएपछि शेयर बेचविखनको खेल शुरु भयो । कम्पनिमा छिरेका शाक्य एपिवान टेलिभिजनको उपाध्यक्ष समेत हुन् । उनले उक्त जग्गा सेटिङ मिलाएर करारनामाका प्रथमपक्ष जितेन्द्रलाई थाहा नै नदिई रुप ज्योतिका छोरा अभिक ज्योतीको नाममा रहेको जनरल मार्केटिङ प्रा.ली र रुप ज्योतिकै नाममा रहेको होटल मखमली प्रालि, र स्वयं राजेन्द्र शाक्य, ललितपुरकै पञ्चरत्न शाक्य, राजेन्द्र शाक्यका छोरा डिप्रश शाक्यलाई बिक्री गरिदिए ।


शाक्यकै मिलेमतोमा जग्गा हत्याइएपछि पीडित बनेका श्रेष्ठले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए । २०७५ साल वैशाख २४ गते पीडित श्रेष्ठले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए । जसमा जिसाको हाउजिङ डेभलपमेन्ट प्रा.ली, राजेन्द्र शाक्य र प्रभु बैंक विरुद्ध मुद्दा दायर गरेका थिए ।

जग्गाको लिखित दर्ता बदर र धितो बन्धक लिखित बदरको माग गर्दै उनले जिल्ला अदालतमा मुद्दा हालेका हुन् । उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंले २०७६ मंसिर ३० गते करार परिपालन गर्नु भनि फैसला नै गरेको थियो ।


तर, मुद्दा चलिरहेकै अवस्थामा प्रभु बैंकले मुद्दा बिचाराधिन रहेकै अवस्था अर्थात २०७६ असार ३१ गते होटल मखमली र जनरल मार्केटिङको नाममा ३० करोडा ऋण दिएको पाइएको हो ।

दियोपोस्टलाई प्राप्त कागजात अनुसार प्रभु बैंकले रुपज्योतिको नाममा रहेको होटल मखमलीको नाममा २२ करोड ऋण दिएको छ । जबकी स्युचाटारमा रहेको उक्त जग्गामा रुपज्योतीले कुनै मखमली नामको होटल नै सञ्चालन गरेका छैनन् । त्यस्तै जनरल मार्केटिङको नाममा पनि ८ करोड रुपैयाँ ऋण प्रबाह भएको छ ।

रुप ज्योतिकै छोरा अभिक ज्योतिको नाममा रहेको यो कम्पनिले पनि सोही विवादित जग्गा धितोमा राखेर यो ऋण निकालेको हो । त्यस्तै अदालतमा विवादित बनेको जग्गा राखेर अन्य व्यक्तिले समेत ऋण निकालेका छन् । पञ्चरत्न शाक्यले पनि सोही जग्गा बैंकमा राखेर ऋण निकालेका हुन् । तर, जग्गाका असली हकदार भने आफू ठगिएको भन्दै विभिन्न निकायमा धाउन बाध्य छन् ।


यद्धपी जिल्ला अदालत काठमाडौंले उनले उक्त जग्गाको आधा हिस्सा पाउनुपर्ने फैसला गरिसकेको छ । तर, आधा हिस्सा जग्गा पनि माफिया व्यापारीहरले दक्षिण भारतीय चलचित्रको शैलीमा लुट मच्चाएपछि पीडित श्रेष्ठ अन्यायमा परेका छन् ।

उनीहरूले जालसाजी गरेर हत्याएको ४२ रोपनी जग्गा पछिल्लो समय जिल्ला अदालतले रोक्का राख्न मालपोत कार्यालयमा पत्र पठाएको छ । तर जिसाको हाउजिङको नाममा रहेको बाँकी १२ रोपनी ११ आना जग्गा कसको नाममा पुर्याइयो भन्ने रहस्य खुल्न सकेको छैन ।
मुद्दा चलिरहेको जग्गा र होटल नभएको कागजी होटललाई ऋण दिने प्रभु बैंकका सिइओ अशोक शेरचनलाई प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

अशोक शेरचन, अभिक ज्योति र दिप्रस शाक्य


राष्ट्र बैंकका एक अधिकारीका अनुसार मुद्दा चलेको र विवादित छ भन्ने जान्दा जान्दै बैंकले मनोमानी रुपमा ऋण दिनु भने ऋण अपचलन हो । तर, प्रभु बैंकका सिइओ शेरचनको राष्ट्रपति कार्यालयसम्म अति निकट सम्बन्ध भएका कारण उनी विरुद्ध राष्ट्र बैंकमा दर्जनौँ उजुरी परेपनि कुनै कारबाही भएको छैन । राष्ट्र बैंककका प्रवक्ता डा. गुणकर भट्टको मोबाइलमा यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा उनले पटक पटक फोन उठाएनन् ।

TATA ADD