सेना प्रमुख बनेर सत्ता हत्याउने परवेज मुशर्रफ मृत्युदण्डको फैसलाबाट कसरी उम्किएका थिए ?

दियो पोस्ट  

काठमाडौं । पाकिस्तानमा सैन्य कूबाट शक्तिमा आएका पूर्व सैन्य राष्ट्रपति र सेनाका पूर्वप्रमुख जनरल परवेज मुशर्रफको मृत्यु भएको छ । उनी ७९ वर्षका थिए र लामो समयदेखि बिरामी थिए । विगतमा पारिवारिक स्रोतहरूले उनका हातखुट्टाले काम नगरिरहेको र उनको स्वास्थ्य सामान्य अवस्थामा फर्कन सक्ने खालको नभएको स्पष्ट पारेका थिए । पाकिस्तानको सुरक्षा बलका प्रमुखहरूले जनरल मुसर्रफको निधनमा समवेदना प्रकट गरेको जनाएको छ ।

पूर्व सैन्य राष्ट्रपतिको परिवारले उनी एमलोइडोसिन नामको रोग झेलिरहेको जनाएको थियो । यस रोगमा शरीरको प्रोटिन मोलिक्युल्स निष्क्रिय बन्छन् र बिरामीका अङ्गहरूमा असर पर्छ । परवेज मुशर्रफ स्वास्थ्योपचारका लागि अदालतबाट जमानत पाएयता यूएईमा बसिरहेका थिए ।

अस्थिर जीवन
पाकिस्तानका हालसम्मका अन्तिम सैन्य शासक मुशर्रफको भाग्य पछिल्ला दुई दशकमा अस्थिर देखिएको थियो । सन् १९९९ मा शक्ति हात पारेयता उनी सयौँ हत्या प्रयासमा बच्न सफल भएका छन् । र उनी पश्चिमा विश्व र इस्लामिक लडाकुहरूबीचको लडाइँमा अग्रपङ्क्तिमा देखिएका थिए । तर उनको राजनीतिक दलले सन् २००८ को निर्वाचनमा पराजय भोगेको थियो र उनीमाथि देशको संविधानलाई गैर कानुनी रूपले निलम्बन गरेको एवं सङ्कटकाल लगाएको आरोप लागेको थियो ।

शक्तिमा उदाएको २० वर्षपछि अदालतले उनलाई संविधानको उल्लङ्घन गरेको भन्दै मृत्युदण्डको सजाय सुनाएको थियो । मुशर्रफ अगस्ट ११, १९४३ मा दिल्लीमा एक उर्दू भाषी परिवारमा जन्मिएका थिए । सन् १९४७ मा भारतको विभाजन भएपछि उनका अभिभावकहरू पाकिस्तानमा बसाई सरेका थिए ।

सेनामा लामो समय काम गरेपछि सन् १९९८ मा उनलाई तत्कालीन प्रधानमन्त्री नवाज शरिफले सेना प्रमुख नियुक्त गरेका थिए । र त्यसको एक वर्षपछि उनले देशको निर्वाचित सरकारलाई सत्ताबाट हटाएका थिए । नवाज शरिफलाई आफ्नो छनौट एउटा जुवा प्रमाणित भयो । किनकि उनले सेनाको कमान्ड तुलनात्मक रूपमा वरिष्ठ जनरललाई नदिई मुशर्रफलाई सुम्पिएका थिए ।

नवाज शरिफको लोकप्रियता देशको आर्थिक सङ्कट, विवादास्पद सुधारहरू र कश्मीर सङ्कटका कारण समेत खस्किन थालेको थियो । त्यस वर्ष पाकिस्तान कश्मीरका केही क्षेत्र नियन्त्रणमा लिने असफल प्रयासका कारण समेत लज्जित बनेको थियो र सेनालाई सबै दोष दिइएको थियो । जब नवाज शरिफले जनरल मुशर्रफलाई हटाउन खोजिरहेका थिए तर तत्कालीन सेना प्रमुखले निकै चलाखीपूर्वक हतियारको बलमा शक्ति हत्याउन पुगे ।

अमेरिकामा सेप्टेम्बर ११ को हमलाहरू भएपछिको अवस्थामा अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसको ‘वार अन टेरर’ अर्थात् आतङ्कवादविरूद्धको लडाइँको अर्थ अल कायदा र तालिबानलाई सघाउने सबैसँग मुठभेड हुने थियो । पाकिस्तानी सेनामाथि तीसँग पुरानो सम्बन्ध रहेको आरोप लागिरहन्थ्यो । पाकिस्तानी राष्ट्रपति त्यस बेला अप्ठेरो अवस्थामा पुगेको ठानिन्छ ।

उनले पाकिस्तानभित्रका लडाकु र देशभित्रका अमेरिका विरोधी इस्लामिक आवाजमाथि हमला हुने अमेरिकी दबाबलाई सन्तुलन गर्न खोजिरहेका थिए । अफगानिस्तानको मुद्दा समेत त्यहाँ थियो । परवेज मुशर्रफमाथि अफगानिस्तानमा नेटो र अफगान सरकारले बारम्बार अल कायदा र तालिबानप्रति सद्भाव राख्नेहरूको गतिविधि रोक्न सङ्घ प्रशासित जातीय क्षेत्रमार्फत पर्याप्त काम नगरेको आरोप लाग्ने गरेको थियो ।

जब सन् २०११ मा पाकिस्तानमा ओसामा बिन लादेन फेला परे, उनको विगतका काममाथि कैयौँ प्रश्नहरू उब्जिए । लादेन त्यहाँ पाकिस्तानी सैन्य एकेडेमीको छेवैमा वर्षौँ बसेका थिए र उनले त्यसबारे आफूलाई भनिएको कुरा वर्षौँ अस्वीकार गर्दै आए ।

शक्तिबाट कमजोर
जनरल मुशर्रफको कार्यकाल न्यायपालिकासँग हुने तानातानबीच स्मरणीय रह्यो। जसमा सेना प्रमुख रहेरै राष्ट्रपतिमा कायम रहने कुरा समेत जोडिएको छ । सन् २००७ मा उनले तत्कालीन प्रधानन्यायाधीश इफ्तिकार मोहम्मद चौधरीलाई बर्खास्त गरेपछि त्यसले देशव्यापी प्रदर्शनहरू निम्त्यायो । केही महिनापछि उनीहरूले रक्तपातपूर्ण ढङ्गले इस्मालवादस्थित लाल मस्जिद र त्यससँग जोडिएको मदरसामा अवरोध सिर्जना गर्ने आदेश दिए ।

जसक्रममा १०० भन्दा धेरै मानिसहरूले ज्यान गुमाएका थिए । लाल मस्जिदका गुरु र विद्यार्थीहरूमाथि पाकिस्तानको राजधानी ईस्लामावादमा कडा सरिया कानुन लागु गर्ने आक्रामक अभियान सञ्चालन गरिरहेको आरोप लगाइएको थियो । त्यस घटनाको नतिजाका रूपमा पाकिस्तानी तालिबानको स्थापना भयो र शृङ्खलाबद्ध सशस्त्र बम हमलाहरू सुरु हुन थालेपछि हजारौँ मानिसहरू मारिए ।

सन् २००७ मा जब नवाज सरिफ निर्वासनबाट फर्किए, त्यो मुशर्रफ युग अन्त्यको सुरुवात थियो । सेनाका ती पूर्व जनरलले आफ्नो शासन लम्ब्याउन आपत्कालीन अवस्था घोषणा गरे तर उनको पार्टीले सन् २००८ को संसदीय निर्वाचनमा पराजय बेहोर्‍यो । ६ महिनापछि उनले महाभियोग छल्नका लागि राजीनामा दिए र देश छाडेर बाहिरिए । एउटा अनुमानमा लन्डन र दुबईमा आफ्नो बसाइँका बेला पूर्वराष्ट्रपति मुशर्रफले दशौँ लाख अमेरिकी डलर विश्वभर प्रवचन दिएर कमाएका थिए । तर उनले आफ्नो उद्देश्य शक्तिमा फर्कनु रहेको भन्ने कुरा कहिल्यै लुकाएनन् ।

सन् २०१३ को मार्चमा उनी चुनाव लड्न भन्दै नाटकीय रूपमा पाकिस्तान फर्किए तर त्यसबेला उनी पक्राउ परे । उनीमाथि चुनावमा सहभागी हुन प्रतिबन्ध लाग्यो र उनको दल अल पाकिस्तान मुस्लिम लीगले धेरैले ठाने जसरी नराम्रो पराजय बेहोर्‍यो ।

मृत्युदण्ड
त्यस लगत्तै उनी अदालती मुद्दा मामिलामा जोडिन थाले । जसमा एउटा मुद्दा बेनजिर भुट्टोका लागि पर्याप्त सुरक्षा व्यवस्था नगरिएको विषय समेत थियो । भुट्टो सन् २००७ मा तालिबानद्वारा मारिएकी थिइन् जुन घटनाले पाकिस्तान र पूरै विश्वलाई तरङ्गित पारेको थियो ।

सन् २०१० को एक राष्ट्रसङ्घीय छानबिनमा जनरल मुशर्रफमाथि पूर्वप्रधानमन्त्रीलाई सुरक्षित राख्न ‘नियतवश असफल भएको’ आरोप लगाइएको थियो । सोही वर्ष सन् २००७ मा संविधान निलम्बन गर्ने उनको निर्णयका लागि राजद्रोहको अभियोग सामना गरे । तर लामो समय सेनाले शासन गरेको देशमा अभियोजनको काम सहज अघि बढेन ।

त्यसैले पूर्व शासकको मुद्दा हेर्न सरकारले विशेष अदालत सिर्जना गर्‍यो । उक्त मुद्दा पाँच वर्ष चल्यो र अन्ततः तीनजना न्यायाधीशहरूले एउटा फैसलामा उनलाई राजद्रोहमा दोषी ठहर्‍याए । उनलाई मृत्युदण्ड सुनाइयो । तर त्यो सजाय कार्यान्वयन हुन सकेन र परवेज मुशर्रफले बिमारीका कारण जीवनको लडाइँ हारे । बीबीसीबाट ।

सम्बन्धित खबर