टर्की र सिरियामा भूकम्प : मृतकको संख्या ८ हजार नाघ्यो, उद्धारमा जुटे अरु देश पनि !

दियो पोस्ट  

काठमाडौं । टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेहरुको संख्या करिब आठ हजार पुगेको छ । समाचार एजेन्सी एएफपीका अनुसार टर्कीमा ५ हजार ८९४ र सिरियामा कम्तिमा १ हजार ९३२ जनाको मृत्यु भएको हो ।

भग्नावशेषहरुमा खोजी र उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । अत्यधिक चिसो मौसमका कारण हाल उद्धार तथा राहतको काम तीव्र पारिएको छ ।

टर्कीका सहरहरुमा भूकम्प पीडितहरु नै उद्धार कार्यमा सक्रिय रहेको बीबीसीले जनाएको छ । कतिपय पीडितहरुले उद्धार कार्य ढिलो भइरहेको गुनासो पनि गरेका छन् ।

भूकम्पको भग्नावशेषमा जन्मिएकी शिशुको ३० घण्टापछि जीवितै उद्धार

गत सोमबार बिहान पहिलो पटक ४ बजेर १७ मिनेटमा टर्की र सिरियाको सीमा क्षेत्रमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही घण्टापछि नै ७.५ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो ।

भूकम्पले मानवीय र भौतिक क्षति धेरै भएपछि टर्की सरकारले संकटकाल घोषणा गरेको छ । अमेरिका, चीन, रुस, बेलायतलगायत देशले खोज तथा उद्धार कार्यमा सघाइरहेका छन् ।