अर्थमन्त्री पौडेल र युएसएआईडीका प्रमुख सामन्था पावरबीच भेट, के विषयमा भयो कुराकानी ?

दियो पोस्ट  

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी)का प्रशासक सामन्था पावरले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग शिष्टाचार भेटघाट गरेकी छन् । भेटमा गत वर्ष दुई देशबीचको कुटनीतिक सम्बन्धको ७५‌औं वर्षगाँठ मनाइएको स्मरण गर्दै अर्थमन्त्री पौडेलले द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालले सन् १९५१ मा प्वाइन्ट फोर प्रोग्रममा हस्ताक्षर गरेपछि पहिलो पटक वैदेशिक सहायता प्राप्त गरेको र हालसम्म आइपुग्दा हाम्रा दुई देशबीचको विकास साझेदारीले नयाँ उचाइ प्राप्त गरेको युएसएआइडीमार्फत विस्तार भएको जी टु जी सहयोग प्रमाण भएको उनको भनाइ छ । पौडेलले विकसित देशहरुले अपनाएको कसिलो मौद्रिक नीतिले नेपाल जस्ता कम विकसित देशको अर्थतन्त्रको सुधारको गतिलाई सुस्त बनाएको र यसमाथि विश्वको साझा समस्याको रुपमा रहेको जलवायु परिवर्तनले अरु बोझ थपेको धारणा व्यक्त गरे ।

नेपालको सार्वजनिक वित्त प्रणालीलाई विश्वास गरेर सिधै सरकारको कोषमा सहायता प्रदान गर्ने अमेरिकी सरकारको नीतिको प्रशंसा गर्दै उनले नेपालले सन २०२२ को मे मा युएसएआईडीसँग द्विपक्षीय सहायता सम्झौतामा हस्ताक्षर गरेपछि आगामी पाँच वर्षमा कुल अमेरिकी डलर ६५९ मिलियन बराबरको अनुदान सहायता नेपालको बजेट प्रणालीमार्फत उपयोग गर्ने बताइन् । सामन्थाले नेपालमात्र जी टु जी सहायता प्राप्त सहायता परिचालन गर्ने देश भएको जानकारी दिइन् । विकासका क्षेत्रमा दक्षिण एशियामै क्लिन इनर्जीको स्रोत बन्न सक्ने सम्भावना रहेको कुरा व्यक्त गरिन् ।

भेटघाटका अवसरमा द्विपक्षीय विभिन्न मुद्दाहरुमा पनि छलफल भएको थियो ।
सो अवसरमा नेपालका लागि अमेरिकी राजदूत, युएसएआईडी नेपालका मिसन डाइरेक्टर लगायतको उपस्थिति थियो ।