कोरियाका राष्ट्रपतिका विशेष दूतले भेटे प्रधानमन्त्री प्रचण्ड, के भयो कुराकानी ?

दियो पोस्ट  

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योअलका विशेष दूत सुङ मिन जङसहितको टोली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । जङसहित ८ जनाको टोलीले मंगलबार बिहान प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेको हो। प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सदृढ बनाउने, आर्थिक सहयोग आदानप्रदानलगायतका विषयमा महत्वपूर्ण छलफल भएको थियो। भेटवार्तामा इपीएसमार्फत् अझ बढी कामदार कोरिया लैजाने, दक्षिण कोरियाबाट नेपालमा प्राप्त सहयोग बढाउने विषयमा पनि छलफल भएको थियो। आगामी वर्ष नेपाल र दक्षिण कोरियाबीच कुटनीतिक सम्बन्ध सुरु भएको ५० वर्ष पुग्ने भएकाले त्यसलाई भव्यताका साथ मनाउने विषयमा पनि छलफल भएको जनाइएको छ।