काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले सम्भावित शान्ति सम्झौताका लागि रुसलाई आफ्नो भूभाग कुनै पनि हालतमा दिन नसकिने बताएका छन् । बीबीसीसँगको एक अन्तर्वार्तामा रुसलाई जमिन दिनु भनेको उसलाई बोलाइरहनु भएको बताएका छन् । उनले पश्चिमा मुलुकको हतियारको सहयोगमा शान्ति कायम हुने विश्वास पनि व्यक्त गरेका छन् ।
राष्ट्रपति जेलेन्स्कीले वसन्त यामको आक्रमण सुरु भइसकेको बताएका छन् । अन्तर्वार्तामा उनले भनेका छन्, ‘विभिन्न दिशाबाट रुसी आक्रमण सुरु भइसकेको छ ।’ राष्ट्रपति जेलेन्स्कीले युक्रेनी फौज रुसी आक्रमणको प्रतिरोध गर्न सक्ने बताएका छन् । उनले रुसी आक्रमणको प्रतिरोध गर्न् पश्चिमा मुलुकबाट सैन्य सहयोग मागिरहेका पनि छन् । उनी अगाडि भन्छन्, ‘निश्चय नै, आधुनिक हतियारले शान्ति छिटो आउँछ । रुसले बुझ्ने भनेकै हतियारको भाषा हो ।’
जेलेन्स्कीले गत हप्ता बेलायत र युरोपेली युनियनका नेताहरूसँग भेटेका थिए । उनले राष्ट्रको रक्षाका लागि भन्दै आधुनिक हतियार सहयोग मागेका थिए । उनले आधुनिक फाइटर जेटसमेत सहयोग माग गरेका छन् ।
जीवनमा कैयौँ सम्झौता हुने गरे पनि रुससँग भने सम्झौता हुन नसक्ने राष्ट्रपति जेलेन्स्कीको भनाइ छ । युद्ध कहिले अन्त्य हुन्छ भन्ने प्रश्नमा उनी भन्छन् , ‘अहिले हाम्रो अस्तित्वको रक्षा नै हाम्रो एकता हो । मलाई विश्वास छ युक्रेन आफ्नो अस्तित्वका लागि लडिरहेको छ ।’