काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले आफैं राष्ट्रपति बन्नेबारे नसोचेको बताएका छन् । मंगलबार दाङमा पत्रकारहरूसँग कुरा गर्दै उनले चाहना राख्ने बेग्लै कुरा भएको भन्दै आफ्नो चाहनालाई पनि लुकाएनन् । ‘चाहना राख्ने बेग्लै कुरा भयो। मैले नै आफू के गर्ने भनेर सोचिसकेको छैन। हाम्रो पार्टीले पनि के गर्ने भन्ने सोचिसकेको छैन’, उनले भने, ‘तर, पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्ने धारणा छ। हामी अरुका निम्ति मात्रै सधैं बलिदान हुने, अरुले फाइदा उठाउने कुरा हुनसक्दैन।’
अध्यक्ष नेपालले राष्ट्रपति पदका बारेमा चुनावअघि कांग्रेस र माओवादी केन्द्रसँग आफूहरूको कुराकानी भएको बताए। उनले त्यतिबेला आफूहरूले केही नामहरू अघि सारेको र उनीहरूको सहमति रहेको बताए।