नेपाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआईबीच सहकार्य, विद्यार्थीलाई एआई तथा उद्योगसँग जोडिने अवसर

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई बीच कृत्रिम बुद्धिमत्ता (एआई) तथा नवप्रवर्द्धनात्मक प्रविधिमा विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

नेपालमै इन्जिनियरिङ शिक्षाको नमूना संस्थाका रूपमा परिचित कलेजले विद्यार्थीलाई अध्ययनकै क्रममा उद्योग तथा नवप्रवर्द्धन क्षेत्रमा जोड्ने लक्ष्यसहित नेक्स्ट एआईसँग सहकार्य अघि बढाएको जनाएको छ।

समझदारीपत्रमा कलेजका तर्फबाट कम्प्युटर इन्जिनियरिङ विभागकी विभागीय प्रमुख सहायक प्राध्यापक अंशु घिमिरे तथा नेक्स्ट एआईका संस्थापक क्षितिज रिमालले हस्ताक्षर गरेका हुन्।

कलेजका मिडिया रिलेसन अफिसर महेश पुजाराका अनुसार यस सहकार्यले विद्यार्थीलाई कृत्रिम बुद्धिमत्ता र उदीयमान प्रविधिका क्षेत्रमा इन्टर्नशिपसहित विभिन्न क्षमता विकासका अवसर उपलब्ध गराउनेछ। साथै, प्राविधिक शिक्षा र उद्योगबीचको सम्बन्धलाई थप मजबुत बनाउन पनि यो सहकार्य महत्वपूर्ण हुने विश्वास गरिएको छ।

३१ वर्षअघि स्थापना भएको मुनाफारहित सामाजिक शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेजले विद्यार्थीको अध्ययन र व्यावहारिक सिकाइलाई प्रभावकारी बनाउन विभिन्न संस्था तथा उद्योगसँग निरन्तर सहकार्य गर्दै आएको छ। पोखरा विश्वविद्यालय बाट सम्बन्धन प्राप्त कलेजमा इन्जिनियरिङका स्नातक तथा स्नातकोत्तर तहसम्म अध्ययन अध्यापन हुँदै आएको छ।

सुविधासम्पन्न पूर्वाधार, पूर्णकालीन फ्याकल्टी तथा शान्त हरियाली वातावरणका कारण परिचित कलेजले हरेक वर्ष सयौं विद्यार्थीलाई आकर्षक छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ।

सिफारिस